धनगढीः धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ कार्यक्रम अन्तर्गत वडा नम्बर १ का विभिन्न सडक खण्डमा सेन्सरयुक्त आधुनिक सडक बत्ती जडान कार्य सम्पन्न गरेको छ। त्रिवेणी चोकदेखि हुलाकी सडक कटानसम्म कुल ९२ वटा पोलमा स्मार्ट सडक बत्ती जडान गरिएको हो।उपमहानगरपालिकाका अनुसार विभिन्न तीन सडक खण्डमा बत्ती जडान गरिएको छ। त्रिवेणी चोकबाट पूर्वतर्फ शैलेश्वरी क्याम्पस हुँदै हुलाकी रोडसम्म ३६ वटा, त्रिवेणी चोकबाट पश्चिमतर्फ हुलाकी रोडसम्म ३१ वटा तथा कव्रस्थान हुँदै जोशी टोलदेखि कृष्ण मन्दिरसम्म २५ वटा बत्ती जडान गरिएको छ।
सेन्सरयुक्त यी बत्तीहरूले ऊर्जा बचतसँगै स्वचालित रूपमा सञ्चालन हुने भएकाले सडक सुरक्षा, आवागमन सहजता तथा क्षेत्रको सौन्दर्य अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। उपमहानगरपालिकाले शहरलाई सुरक्षित, व्यवस्थित र उज्यालो बनाउने लक्ष्यसहित यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको जनाएको छ।

