धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको विषयले राजनीतिक माहौल तातेका बेला साबिक नागरिक उन्मुक्ति पार्टी नाउपा का चार सांसदले नाउपा नेपालका संरक्षक रेशम चौधरीसँग भेटवार्ता गरेका छन्।
बर्दियाको गुलरियास्थित रेशम चौधरीको निवासमा पूर्वमन्त्री घनश्याम चौधरी, रामेश्वर चौधरी, लक्ष्मणकिशोर चौधरी र इन्दीरा गिरीले भेट गरी प्रदेशको बदलिँदो राजनीतिक अवस्था र सरकार गठनबारे आन्तरिक छलफल गरेका हुन्। स्रोतका अनुसार साबिक नाउपाका पाँचै सांसद एकै धारमा रहे पनि सांसद टीका थापा स्वास्थ्य समस्याका कारण बैठकमा उपस्थित हुन सकेनन्।
नागरिक उन्मुक्ति पार्टी र नेकपाबीच भएको एकतालाई स्वीकार नगरेका यी सांसदहरूले पछिल्लो राजनीतिक समीकरण, सरकारमा पार्टीको सम्भावित भूमिका, नयाँ गठबन्धनसँगको समन्वय तथा पार्टीभित्रको एकताका विषयमा लामो छलफल गरेका थिए।
यसअघि नेकपाको संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि अन्य दलसँग छलफल अघि बढाउने निर्णय गरिसकेको छ। त्यसको भोलिपल्ट साबिक नाउपाका सांसदहरूले रेशम चौधरीसँग गरेको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
भेटमा सहभागी सांसद घनश्याम चौधरीले भने यसलाई सामान्य भेटघाटको रूपमा व्याख्या गरेका छन्। उनले आफूहरू अहिले नेकपासँग रहेको र पार्टीले गर्ने निर्णयअनुसार नै अघि बढ्ने बताएका छन्।
सुदूरपश्चिममा यसअघि एमालेका तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र रावललाई तत्कालीन नाउपाले विश्वासको मत नदिएर कांग्रेसका कमलबहादुर शाहलाई मुख्यमन्त्री बनाउन भूमिका खेलेको थियो। त्यसको नेतृत्व त्यतिबेला नाउपाका संरक्षक रेशम चौधरीले गरेका थिए। अहिले शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
यही पृष्ठभूमिमा रेशम चौधरीसँग साबिक नाउपाका सांसदहरूको भेटलाई आगामी सत्ता समीकरण र सरकार गठन प्रक्रियामा प्रभाव पार्ने राजनीतिक घटनाक्रमका रूपमा हेरिएको छ। यसअघि कांग्रेस नेतृत्वको सरकार गठनमा निर्णायक भूमिका खेलेका रेशम चौधरीले अबको नयाँ समीकरणमा कसलाई समर्थन गर्नेछन् भन्ने विषयमा राजनीतिक चासो बढेको छ।

