धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले किशोर किशोरी तथा युवाको यौन तथा प्रजनन स्वास्थ्य प्रवद्र्धनका लागी छुट्टै कानुन निर्माण गरेको छैन । प्रदेशसभाबाट “प्रदेश स्वास्थ्य नीति” पारित भए सगैं सोही निति अनुसार किशोर किशोरी तथा युवाको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धीका सिमित कार्यक्रम सञ्चालित छन् । जसका कारण स्वास्थ्य केन्द्रहरूमा युवामैत्री सेवा भनेको भए पनि धेरै स्थानमा गोपनीयताको अभावले किशोरीहरू सहज अनुभव गर्दैनन् । यो सुधार गर्नु आवश्यक छ । सुदूरपश्चिममा लैङ्गिक असमानता, बालविवाह, किशोरावस्थामा गर्भधारण, तथा यौनजन्य हिंसा जस्ता समस्याहरू समाधान गर्न स्थायीत्वपूर्ण र अन्तर–संस्थागत समन्वय जरुरी छ । साथै, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी नीतिहरूको प्रभावकारी कार्यान्वयन र निगरानी आवश्यक रहेको तर्क गरिएको छ । प्रदेश सरकारले “प्रदेश स्वास्थ्य नीति” निर्माण गरेपनि यौन तथा प्रजनन स्वास्थ्य प्रवद्र्धन अपेक्षित नतिजा आउन नसकेको महिला अधिकारकर्मी झुमा चौधरीले बताइन् ।
जबसम्म किशोर किशोरी तथा युवाकोयौन तथा प्रजनन स्वास्थ्य प्रवद्र्धनका लागी सरकारले छुट्टै कानुन निर्माण गर्दैन यो कार्यक्रम प्रभावकारी बन्दैन उनले भनिन् “सरकारले स्वास्थ्य नितिमा केही बिषय समावेश गरेपनि कार्यान्वयनका बेला प्रार्थमिकतामा पर्दैन, सरकारले देखिने बिकास भन्दापनि यस्ता दीर्घकालित महत्व राख्ने सबेंदवशिल क्षेत्रमा लगानी बढाउनुपर्छ ।” प्रदेशमा किशोर, किशोरी तथा युवाहरूको यौन तथा प्रजनन स्वास्थ्य प्रवद्र्धनका लागि छुट्टै नीति नबनेपनि यौनिकता, प्रजनन अधिकार, सुरक्षित मातृत्व र लैङ्गिक समानताको विषयलाई समेट्दै स्वास्थ्य नीति तथा कार्ययोजनाहरूलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइरहेको दावी गरिएको छ । प्रदेश सरकारको हालको स्वास्थ्य नीति, किशोरमैत्री स्वास्थ्य सेवा कार्यक्रम, विद्यालयमा स्वास्थ्य शिक्षा समावेशीकरण, र युवामैत्री केन्द्रहरूको स्थापना जस्ता कदमहरू उल्लेखनीय छन्, प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा.खगेन्द्र बमले भने “किशोर तथा युवा मैत्री स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत जिल्लास्तरीय अस्पतालदेखि स्वास्थ्य चौकीसम्म यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श र सेवा प्रदान गरिँदै आएको छ, हालसम्म प्रदेशका नौवटै जिल्लामा किशोरमैत्री स्वास्थ्य सेवा कार्यक्रम कार्यान्वयनमा छन्, विशेषगरी १०–२४ वर्ष उमेर समूहका युवाहरूमाझ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारीको अभाव, सामाजिक वर्जना तथा पहुँच अभावलाई दृष्टिगत गर्दै सूचना प्रवाह र स्वास्थ्य सेवामा पहुँच विस्तारमा जोड दिइएको छ ।”
सामाजिक बिकास मन्त्रालयको सहयोगमा सञ्चालित “किशोर तथा युवाको समग्र स्वास्थ्य प्रवद्र्धन“ कार्यक्रम अन्तर्गत प्रशिक्षण, सामुदायिक सचेतना कार्यक्रम, विद्यालयस्तरीय गोष्ठी र अभिमुखिकरण कार्यक्रम समेत सञ्चालन भइरहेको उनले बताए । यद्यपि, कार्यक्रम कार्यान्वयनको क्षेत्रमा केही चुनौतीहरू भने विद्यमान छन् । विशेषगरी ग्रामीण भेगका किशोर–किशोरीमा जानकारीको अभाव, सामाजिक र सांस्कृतिक वर्जनाले सेवामा पहुँचमा अवरोध खडा गरिरहेको छ । साथै, पर्याप्त जनशक्ति, गोपनीयता सुनिश्चित गर्ने पूर्वाधार र अनुकूल वातावरणको कमी पनि देखिएको छ । बमका अनुसार, “किशोर किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यलाई केन्द्रमा राखेर आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने तयारी भइरहेको छ ।” सुदूरपश्चिममा किशोर तथा युवाको यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न नीतिगत व्यवस्था त सुदृढ बन्दैछ, अब आवश्यकता छ ती नीतिहरूलाई व्यवहारमा उतार्ने दृढ इच्छाशक्ति र सामाजिक रूपान्तरणको ।
सुदूरपश्चिम प्रदेशको “प्रदेश स्वास्थ्य नीति, २०७८” मा लक्षित समूहहरू (जस्तोः किशोर–किशोरी) का लागि मैत्री सेवा सुनिश्चित गर्ने र स्वास्थ्य संस्थाहरूलाई किशोर–किशोरी मैत्री बनाउनुपर्ने उल्लेख छ । विशेष गरी सेवा बालमैत्री, लैङ्गिक समानता तथा पहुँचमा समावेशिता जोडिएको छ । “किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका, २०७९” ले व्यवहारिक तहमा कसरी ती सेवा सञ्चालन गर्ने भन्ने मानक, प्रक्रिया र अपेक्षित सेवा घटकहरू निर्धारण गरेको छ ।
मुख्य चुनौतीहरू
राष्ट्रिय रिपोर्ट अनुसार प्रमाणित किशोरमैत्री स्वास्थ्य संस्थाको टाढा दूरी, गुणस्तरीयता र मानक अनुरूप कार्यान्वयनमा कमी छ । यौनिकता शिक्षामा पहुँच भए पनि त्यसको सामग्री÷लागुता युवाहरूको आवश्यकतासँग मेल खाँदैन, र धेरै समुदायमा सांस्कृतिक÷रुढीवादी अवरोधहरू छन् । किशोर–किशोरी, विशेष गरी महिला, अल्पसंख्यक वा ग्रामीण भेगका युवाहरूले गोपनीयता, लिङ्ग आधारित पूर्वाग्रह, र जानकारीको अभावका कारण सेवामा पुग्न कठिनाइ भोगिरहेका छन् । डेटा र अनुगमनको अन्तरः यद्यपि नीति छ, स्थानीय स्तरमा नियमित, डिस–एग्ग्रीगेटेड डाटा संकलन र प्रभाव मूल्याङ्कन अझै वृद्धिको आवश्यक छ ।
सुदूरपश्चिम सरकारले किशोर–किशोरी तथा युवाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई नीति र कानुनी तहमा केही आधार दिएको छ (संविधान, ऐन, प्रदेश स्वास्थ्य नीति, सञ्चालन निर्देशिका आदि) र केहि कार्यान्वयन प्रगतिहरू जस्तै किशोरमैत्री केन्द्र घोषणा, युवा सम्मेलन, र स्थानीय आयोजनाहरू भएका छन् । तथापि प्रमाणिकरण, पहुँच, गुणस्तरीय शिक्षा, सांस्कृतिक÷सामुदायिक अवरोध र डाटा प्रणालीमा महत्वपूर्ण अन्तरहरू बाँकी छन् । यी अन्तरहरू घटाउन माथि उल्लिखित लक्षित सिफारिसहरू लागू गर्न आवश्यक छ । यसका साथै किशोर किशोरी तथा युवाको यौन तथा प्रजनन स्वास्थ्य प्रवद्र्धनका लागी छुट्टै कानुन निर्माण गर्न सके कार्यक्रम प्रभावकारिता बन्ने थियो ।

