आदरणीय साथीहरू,
जेन जी आन्दोलन कुनै सामान्य विद्रोह थिएन, यो देशको इतिहासमा नयाँ पुस्ताले ल्याएको नयाँ राजनीतिक चेतना थियो। यसको चार आधारभूत मर्म—सुशासन, स्थायित्व, उत्तरदायी सरकार र युवापुस्तामा राजनीतिक हस्तान्तरण—नेपालको लोकतान्त्रिक यात्रालाई नयाँ धरातलमा लैजाने सूत्र थियो। यस आन्दोलनले देखाएको आँधीझैँ ऊर्जा, हाम्रो समाजका प्रत्येक थुनिएको आकांक्षालाई विस्फोटित गरिदियो।
तर, यही आन्दोलनलाई परम्परागत सत्ताधारी गठबन्धन—एमाले र कांग्रेस—आत्तिएर बर्बर दमनतर्फ लाग्यो। २० जना विद्यार्थी युवाको निर्मम हत्या गरियो। यो हत्या केवल व्यक्तिको होइन, यो हत्या थियो नेपालको सम्भावित नयाँ राजनीतिक संस्कृति, सुशासन र समृद्धिको यात्राको
आन्दोलनको विचलन र प्रतिक्रियावादको प्रवेश
आदरणीय साथीहरू,
दमनले आन्दोलनलाई रोक्न सकेन, तर दिशा बिगार्यो। भदौ २४ पछि आन्दोलनको वैचारिक धरातल कमजोर पारियो। सुशासन र स्थायी राजनीतिक संरचनाको एजेन्डा साटेर, यो आन्दोलन प्रतिक्रियावादी तत्वको चपेटामा आयो। निजी तथा सार्वजनिक सम्पत्तिको विध्वंसले आन्दोलनलाई बदनाम गरायो, जनताको विश्वास हल्लाइदियो, र देश शून्यता तर्फ धकेलियो।
यही कमजोर घडीको लाभ पूर्व प्रधानन्यायाधीश सुशिला कार्की नजिकको पूर्वाग्रही समूहले उठायो। सुशिला कार्कीलाई हामी सुशासनको प्रतिक रूपमा मान्दै आएका थियौँ, तर यो निर्णायक क्षणमा उनी पनि चुकेकी छिन्।
कहाँ चुकियो ?
सुशिला कार्कीले संसद विघटनजस्तो सतही एजेन्डा होइन, शासकीय स्वरूप र निर्वाचन प्रणालीमा संविधान संशोधनको सवाललाई उठाउनु पर्ने थियो।
नेपालको अस्थिरताको जरै यही हो—
शक्तिविन्यासको स्पष्टता नभएको शासन संरचना
दलाल प्रवृत्तिले कब्जा गरेको निर्वाचन प्रणाली
युवापुस्ताको प्रवेशलाई रोक्ने दलभित्रको जर्जर संरचना
यदि यो सवाल उठाइएको भए, आन्दोलनले आफ्ना चार मर्मलाई संरक्षण गर्दै ऐतिहासिक उपलब्धि हात पार्ने थियो। तर त्यो सुनौलो अवसर गुमाइयो।
हाम्रो दृष्टिकोण र हाम्रो भविष्य!
आदरणीय साथीहरू,
आन्दोलन मरेको छैन, आन्दोलनको सपना अझै बाँकी छ। इतिहासले देखाएको छ—युवा पुस्ताको रक्त आहुति कहिल्यै खेर जान्दैन। प्रश्न केवल नेतृत्वको स्पष्टता र वैचारिक मार्गदर्शनको हो।
अब आवश्यक छ—
शासकीय स्वरूपमा वैकल्पिक बहस (कार्यकारी राष्ट्रपति वा संशोधन
समानुपातिक प्रतिनिधित्व प्रणालीमा आमूल सुधार
दलहरूको आन्तरिक लोकतन्त्रलाई संवैधानिक रूपमा बाध्यकारी बनाउने
युवापुस्ताको नेतृत्व हस्तान्तरणलाई सुनिश्चित गर्ने संवैधानिक प्रावधान
यही बिन्दुमा आन्दोलनलाई पुनः संरचना गर्ने हो भने, जेन जी आन्दोलनले ल्याएको आशा फेरि पनि यो भूमिमा नयाँ राजनीतिक संस्कृति निर्माण गर्नेछ।
आदरणीय साथीहरू,
जेन जी आन्दोलनको मर्म चुकाइयो, तर मर्मको बीउ अझै जीवित छ। यो बीउलाई वैचारिक उर्वरता र संगठित शक्तिले सिंचित गर्ने जिम्मेवारी हामी वामपन्थीहरूमाथि छ। आज हामी चुक्यौँ भने भोलिको इतिहासले हाम्रो पुस्तालाई माफ गर्नेछैन।
अब समय आएको छ—देशलाई प्रतिक्रियावाद र सडेको व्यवस्थाबाट मुक्त गर्दै, युवापुस्ताको हातमा जिम्मेवारी हस्तान्तरण गर्ने निर्णायक कदम चाल्ने। यही हो प्रगतिशील यूवा नेता कार्यकर्ता प्रमुख जिम्मेवारी, हामी पनि चुक्यौं इतिहासले हाम्रा सहिदको रगतले हामी कसैलाई माफ दिने छैन ।
जय देश !
जय गणतन्त्र !!
लेखक -: मिनराज बडु
(सुशासन र समृद्धि अभियानको अथक योद्धा )


