धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारको एक वर्ष पुगेको छ । गतवर्ष तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बहुमत जुटाउन नसक्दा पदबाट राजीनामा दिएपछि साउन २० गते शाह दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनु भएको थियो ।
प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेको समय सीमामा नागरिक उन्मुक्ति पार्टीका दुई जनाले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गरेपछि नेपाली कांग्रेसका शाहले बाजी मारेका थिए ।
नागरिक उन्मुक्ति पार्टीबाट मुख्यमन्त्री नियुक्ति हुन नसकेपछि प्रदेश सभामा सबैभन्दा ठुलो दलका संसदीय दलको नेताका हैसियतले शाहलाई मुख्यमन्त्री बन्ने अवसर मिलेको थियो ।
उनी नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीलाई समावेश गरेर सरकार बनाउनु भएको थियो । पछिल्लो समय नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिनुका साथै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । शाह नेतृत्वको सरकारले प्रदेश सभाबाट स्थानीय सेवा ऐन निर्माण गरेर स्थानीय तहमा देखिएको कर्मचारी सम्बन्धि समस्या समाधान कार्यको सुरुवात गरेको छ ।
सरकारले एक वर्षसम्म गरेको कामको उपलब्धिहरु आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए ।


