धनगढी: स्वास्थ्यकर्मीमा पनि अनमी अर्थात् एक्जुलरी नर्स मिडवाइफको पद स्वास्थ्य क्षेत्रमा भुइँ तहमा छ । तर, अनमीहरूले गर्दै आएको काम कुनै चिकित्सकको भन्दा कम देखिन्न । विशेषगरी दुर्गम क्षेत्रमा जहाँ डाक्टर वा अन्य विशेषज्ञ स्वास्थ्यकर्मीको पहुँच हुँदैन, त्यहाँ अनमीहरूले स्वास्थ्य सेवाको मेरुदण्डको रूपमा काम गरेका छन् । त्यसैको एउटा उदाहरण हुन्, बैतडीकी जानकी पुजारा । बैतडीको सिगास गाउँपालिकाकी अनमी जानकी पुजाराले नवजात शिशुलाई लगातार ६ घण्टासम्म मुखले श्वास दिएर उनले जुन जीवनदान दिइन्, त्यो कुनै चमत्कारभन्दा कम छैन । यो घटना एकातिर व्यावसायिक समर्पणको अनुपम उदाहरण हो भने अर्कोतिर यसले नेपालको ग्रामीण स्वास्थ्य सेवाको दयनीय अवस्था र राज्यको उपेक्षालाई नंग्याइदिएको छ ।
अनमी जानकी पुजारासँग निसासिएको शिशुलाई कृत्रिम श्वास दिन अत्यावश्यक ‘एम्बु ब्याग’समेत स्वास्थ्यचौकीमा उपलब्ध थिएन । तर उनको व्यक्तिगत लगावकै कारण शिशु जोगाउन सफल भइन् । त्यसो त यो घटना केवल एउटा स्वास्थ्यकर्मीको निष्ठा र लगावमात्रै होइन, देशभरका हजारौं स्वास्थ्यकर्मीको संघर्ष र समर्पणको उदाहरण हो । जानकीले एकजना शिशु जोगाइन् । दुर्गमका थुप्रै अनमीहरूले बाटोमा हिँड्दाहिँड्दै सुत्केरी हुन लागेका गर्भवतीको ज्यान जोगाएका छन् । सुत्केरी हुन नसकेका महिलालाई सुरक्षित सुत्केरी गराएर शिशु र आमाको प्राण बचाएका छन् ।अनमीहरू स्वास्थ्यचौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत हुन्छन् । उनीहरूले नै गर्भवती महिलाहरूको नियमित स्वास्थ्य जाँच गर्ने, तौल लिने, रक्तचाप नाप्ने र आवश्यक सल्लाह दिने काम गर्छन् । भन्नाले कसैको जन्मसँगै सम्बन्धित छ उनीहरूको जिम्मेवारी । जसै व्यक्तिको स्वास्थ्य जन्म र त्यसभन्दा अघि गर्भबाट सुरु हुन्छ । अनमीहरूले गरेको सूक्ष्म निगरानी र उपचारकै कारण व्यक्ति स्वस्थ बन्छ । त्यसैले देशैभरि गाउँगाउँका शिशुको जन्म, गर्भवती र सुत्केरीसम्मको स्वास्थ्यमा जुन सुधार नेपालमा आएको छ, त्यसमा अनमीहरूकै योगदान छ ।
घरघरै पुगेर उनीहरूले नेपालको स्वास्थ्य सेवामा जुन खालको योगदान गरेका छन्, अतुलनीय छ । चिकित्सकले बिरामीको उपचार, शल्यक्रिया गरेर बचाउनुभन्दा अनमीले सुत्केरी गराउनेदेखि पोषण, खोपका क्षेत्रमा पुर्याएको योगदानले देशको समग्र स्वास्थ्यमै ठूलो क्रान्ति गरेका छन् । सामान्य स्वास्थ्यकर्मी भए पनि अनमीको जिम्मेवारचाहिँ नागरिकको स्वास्थ्यमा प्रारम्भिक तहको र महत्वपूर्ण अनि गहन छ । अनमीहरूले स्थानीय भाषा र संस्कृति बुझेर सेवा दिने भएकाले समुदायको विश्वास जित्न सफल भएका छन् । यही विश्वासका कारण सरकारका खोप, पोषण, परिवार नियोजनलगायत स्वास्थ्य कार्यक्रम तथा अभियानहरू सफल भएका छन् ।
जानकीहरूले राज्यबाट कुनै प्रेरणा त पाएका छैनन् नै उनीहरूको व्यक्तिगत कुशलता र त्यागको परिणामस्वरूप नै आज दुर्गमले स्वास्थ्य सेवा पाइरहेको छ । जानकी पुजाराहरूको आज जुन प्रशंसामा भइरहेको छ, त्यो केही दिनमै सेलाएर जान सक्छ । उनीहरूको सच्चा सम्मान तब हुनेछ जब राज्यले दुर्गमका हरेक स्वास्थ्यचौकीलाई स्रोत, साधन र जनशक्तिले सम्पन्न बनाउनेछ । जब कुनै पनि स्वास्थ्यकर्मीले उपकरणको अभावमा आफ्नो वा बिरामीको जीवन जोखिममा राख्नुपर्ने छैन । जब ग्रामीण भेगका आमा र शिशुले अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ । जानकी पुजाराहरूले त आफ्नो कर्तव्य पूरा गरेकै छन् । अब राज्य पनि ब्युँझनुपर्छ । हाम्रो स्वास्थ्य प्रणालीलाई ब्युँझाउने अवसरका रूपमा उनले शिशु जोगाएको घटनालाई लिनुपर्छ । अन्नपुर्णबाट


