धनगढी । मानवसहित प्राणी जगतका लागि अति नै महत्त्वपूर्ण मानिने सिमसार क्षेत्र कैलालीमा मासिँदै गएको छ । सिमसारमा बढ्दो मानवीय गतिविधि र चरम दोहनले सिमसार क्षेत्र मासिँदै गएको हो ।
पछिल्लो समय धेरैजसो प्राकृतिक ताल तलैयामा डोजर लगाएर त्यसलाई आफूखुसी प्रयोग गर्ने काम भइरहेको छ । जसका कारण सिमसार संरक्षण र व्यवस्थापनमा चुनौती बढ्दै गएको छ ।
स्थानीय सरकारहरूले आफ्नो राजस्व वृद्धिका लागि ठेक्का दिएपछि वन क्षेत्रमा रहेका अधिकांश ताल तलैयामा समेत पोखरी बनाएर माछा पालनको कार्य भइरहेको छ । सवडिभिजन वन कार्यालय भजनीका वन अधिकृत लालबहादुर विकले सिमसार संरक्षण र व्यवस्थापनमा बढी नै चुनौती भइरहेको बताए। पछिल्लो समय सिमसार क्षेत्र घट्ने र सुक्खा हुनेक्रम बढ्दो रहेको उहाँको ठम्याइ छ ।
जमिन नलुक्ने, पानी नसुक्ने सिमसिम पानी भएको दलदल क्षेत्र खोल्सा, नाला, तालतलैयालाई सिमसार भन्ने गरिन्छ । सिमसार क्षेत्रले पानीको सञ्चय गरेर जमिनभित्र पठाउने ९रिचार्ज गर्ने० महत्वपूर्ण काम गर्दछ । सिमसारमा जलीय जीवदेखि लिएर विभिन्न प्रजातिका चराचुरुङ्गीको अस्तित्व निर्भर रहेको छ ।
सिमसार मानवसहित पृथ्वीका सबै प्राणीका लागि अति आवश्यक छ । तर, मान्छेबाटै चरम दोहनले सिमसारको प्राकृतिक स्वरूप र पारिस्थितिकीय प्रणाली दिनप्रति दिन बिग्रिरहेको छ ।
चराचुरुङ्गी, जलीय जीव र रैथाने प्रजातिका लागि महत्त्वपूर्ण सिमसार क्षेत्रलाई पालिकाहरूले आम्दानीको महत्त्वपूर्ण स्रोतको रूपमा लिएका छन् । प्राकृतिक तालतलैया ठेक्का दिइएपछि ठेकेदारले आफ्नै हिसाबले पोखरी बनाएर विकासे माछा पालेर आम्दानी गरिरहेका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष झुमादेवी चौधरीले सिमसार क्षेत्रहरू अब सिमसार भन्न लायक नरहेको जिकिर गरिन् । कैलाली लगायतका विभिन्न जिल्लामा रहेका सिमसारहरू सिमसारको परिभाषाभन्दा निकै फरक भइसकेका उनको भनाइ छ ।
स्थानीय सरकारले राजस्व वृद्धिका लागि प्राकृतिक ताल तलैयालाई ठेक्का दिने गरे पनि प्राप्त राजस्वलाई सिमसार संरक्षण र व्यवस्थापनमा खर्च नगरेको संरक्षणकर्मीहरूको बुझाइ छ । सामुदायिक वन समन्वय समिति भजनीका अध्यक्ष खोजराम चौधरीले सिमसार संरक्षणमा स्थानीय सरकारको लगानी शून्य रहेको जिकिर गरे ।


