धनगढी । बैतडी पुर्चौडीको त्रिकालीसहित तीन गाउँमा बिजुली बाल्न १० वर्षदेखि लगातार विद्युत्का तीन वटा योजना सञ्चालनमा भए पनि बिजुली नबल्दा तीन सयभन्दा बढी घरपरिवार मोबाइल चार्ज गर्न छिमेकी जिल्ला बझाङको बित्थड धाउँदै आएका छन् ।
पुर्चौडी नगरपालिका–६, भूमिराजको त्रिकाली, धारुडी र मुडेलीगाउँमा बिजुली पुर्याउन आर्थिक वर्ष २०७२र७३ मा बेउडीगाडको त्रिकालीखोलाबाट बिजुली उत्पादन गर्न ४० लाख रुपियाँको विद्युत् योजना निर्माण सुरु भएको थियो । सो योजनाको नहर र पावरहाउसमा स्थानीयले दैनिक ज्यालादारीमा काम गरेका थिए । बिजुली बल्नु त कता हो कता, स्थानीयले काम गरेको ज्यालासमेत नपाएका त्रिकाली गाउँका तेजबहादुर विष्टले दुःखेसो पोख्नुभयो । उनले भने “विद्युत्को नहरमा पैसा बग्यो तर पानी बगेन । पावरहाउस भवन बन्यो, मेसिन जडान भएन । अहिले सो नहर र पावरहाउस जीर्ण अवस्थामा पुगेको छ । बिजुली बाल्ने सपना बोकेर निर्माण कार्यमा जुटेका हामीले ज्यालासमेत पाएका छैनौँ ।” बिजुली बाल्ने योजनाको अगुवाइ गरेका तत्कालीन वडाध्यक्ष जगी साउदको मृत्युपछि गाउँमा बिजुली पुग्न नसकेको साउदले बताए । उनका अनुसार ४० लाख रुपियाँको जलविद्युत् योजना १० वर्षदेखि अलपत्र परेपछि त्रिकालीवासीको बिजुली बाल्ने धोको अधुरै छ ।
त्रिकाली खोलाबाट बिजुली बाल्ने योजना अलपत्र परेपछि गाउँमा राष्ट्रिय प्रसारणको लाइन पुर्याउने भन्दै पुर्चौडी नगरपालिकाले २०८० सालमा दोस्रो योजना सुरु गरेको थियो । सो योजनाको पनि बिजुली नबल्दा पोल खोलामा अलपत्र परेका छन् । त्रिकालीगाउँमा बिजुली पुर्याउन अहिले तेस्रो पटक सङ्घीय सरकारबाट काम भइरहेको पुर्चौडी नगरपालिका–६ का वडाध्यक्ष नरेन्द्र साउदले बताए ।
गाउँमा बिजुली बाल्ने तेस्रो योजना सुरु भएको हल्ला चले पनि निर्माणको काम सुरु नभएको स्थानीयले बताएका छन् । वडामा पूर्ण विद्युतीकरणको काम चले पनि त्रिकाली गाउँमा पहिल्यैदेखि पोल भएकाले ठेकेदारले नयाँ पोल वितरण नगरेको वडाध्यक्ष साउदले जानकारी दिए ।


