बझाङ : जयपृथ्वी नगरपालिका–१, कैलाशका उमेश सिंहले नेताहरूलाई जनताका दुःखसँग कुनै मतलब नरहेको पाएको गुनासो गरेका छन् । गत साउनमा चीनको तिब्बतस्थित मानसरोवर तालको जल लिनका लागि १२ दिनको पैदल यात्रा गरेर कठान पुगेपछि उनी र उनका पाँच जना आफन्त फर्काइएका थिए । चिनियाँ सुरक्षाकर्मीले मानसरोवर जान अनुमति नदिएपछि समुन्द्र सतहबाट ५ हजार २ सय २० मिटर उचाइमा रहेको उरै भञ्जाङको कठिन यात्रा गर्दै उनीहरू रित्तै हात फर्किएका थिए । साउन महिनामा मात्रै बझाङबाट जल लिनका लागि गएका उमेश जस्तै १ सय ५० बढी तीर्थयात्रीलाई चीनको पुलान काउन्टीमा पर्ने कठानबाट फर्काएको थियो । चिनियाँ सुरक्षाकर्मीले कतिपयका मोबाइल नियन्त्रणमा लिएर फोटो र भिडियोसमेत डिलिट गरिदिएका थिए । त्यसबेला राष्ट्रिय मिडियाको हेडलाइन बनेको यो विषय प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला उठाइन्छ कि भन्ने आशा गरेको आफू त्यसबारे कतै प्रसंग पनि नउठेपछि निराश भएको बताए ।
‘हाम्रा पुर्खादेखि ल्याउँदै आएको जल ल्याउन पनि प्रतिबन्ध गरेको कुरा त्यो बेला मिडियाले पनि लेखेका थिए । प्रधानमन्त्रीले भ्रमणका बेला यो कुरा उठाउलान् र अर्को वर्ष सजिलो होला भन्ने आशा थियो । हामीले आशा गर्नु नै बेकार रहेछ १’ उनले भने, ‘हाम्रो पूजा रोकिएको ६ वर्ष भैसक्यो, नेताले भने वास्तै गरेनन् ।’ कोरोना संक्रमणको कारण देखाउँदै २०७६ मंसिरमा चीनले बन्द गरेको ताक्लाकोट नाका गत जेठमा खुले पनि मानसरोवरसम्म प्रवेश अनुमति नपाउँदा सयौं बझाङीको कुलपूजा ६ वर्षदेखि रोकिएको छ । नाका खुलाए पनि परम्परादेखि चल्दै आएको धार्मिक गतिविधि अवरुद्ध भए जल ल्याउने वातावरण बनाइदिन बझाङका स्थानीय र जनप्रतिनिधिले पटक–पटक प्रधानमन्त्री र परराष्ट्र मन्त्री लगायतका अधिकारीको ध्यानाकर्षण गराइसकेका छन् । यो समस्याको विषयमा बझाङबाट गएका स्थानीयले पूर्वप्रधानमन्त्री देउवाको पनि पटक–पटक ध्यानाकर्षण गराएका थिए ।
उसो त २०७९ चैतमा स्थानीय तहको निर्वाचन लक्षित एक आमसभालाई सम्बोधन गर्न बझाङ आइपुगेका प्रधानमन्त्री ओलीले पनि बझाङबाट चीन जोड्ने चैनपुर–ताक्लाकोट सडक निर्माण तथा यही बाटो भएर कैलाश मानसरोवरसम्म पुग्ने धार्मिक पर्यटनको ढोका खोल्ने बताएका थिए । प्रधानमन्त्री चीन भ्रमणमा जानुअघि पनि बझाङका जनप्रतिनिधि र स्थानीयले यो विषयमा ध्यानाकर्षण–पत्र बुझाएका थिए । ‘प्रधानमन्त्रीका आर्थिक सल्लाहकारलाई पनि हामीले सबै पृष्ठभूमि उल्लेख गरेर ध्यानाकर्षण पत्र बझाएका थियौं । खुटिया, दिपायल, चैनपुर–ताक्लाकोट सडक पनि फ्रेमवर्कमा पार्नु पर्छ भनेका थियौं । त्यति बेला यो सामान्य विषय हो, भैहाल्छ भन्नु भयो,’ पूर्वमन्त्रीसमेत रहेका बझाङका प्रतिनिधी सभा सदस्य भानुभक्त जोशीले भने, ‘तर हाम्रा कुराको सुनुवाइ नै भएन ।’
मष्टो संस्कृतिअन्तर्गत देवताहरूको पूजा गर्दा वर्षको एकचोटि मानसरोवरको जल आवश्यक पर्छ । धेरैजसो देवी–देवताहरूको धामीमा देवता अवतार भएपछि तिनीहरू मानसरोवरमा नुहाएर कैलाशको दर्शन गरेपछि मात्र वास्तविक धामी भएको मान्ने गरिन्छ । धामी भइसकेपछि पनि दुईरतीन वर्षमा मानसरोवरमा स्नान गराएर कैलाशको परिक्रमा गराउनु पर्ने नियम छ । बझाङबाट पैदलै हिँडेर मानसरोवरको जल लिन जाने गरिन्छ । देवी देवताप्रति आस्थावान स्थानीयसँगै धामी र पुजारीहरू देवताले तोकेको भनिएको बाटो हिँडेरै जाने र बास बस्ने गर्छन् । बझाङको उरै हुँदै ताक्लाकोटबाट पैदलै गएर पहिले लागा देवता ९मष्टो संस्कृतिसँग जोडिएका एक देवता० हिँडेको बाटो अनुशरण गर्दै गौरीओढारमा बास बस्नु पर्छ । त्यहाँबाट मानसरोवर स्नान गरी जल ल्याइ पुनः गौरीओढारमा बास बसी पूजा गरेर मात्रै फर्किनु पर्ने नियम छ ।
कोरोना अघि बझाङ जिल्ला प्रशासन कार्यालयले दिएको अस्थायी प्रवेश अनुमतिका आधारमा बझाङका स्थानीयलाई उरै नाकाबाट सहजै मानसरोवर प्रवेशको अनुमति मिल्थ्यो । गत जेठमा नाका खोल्दा चीनले ताक्लाकोटसम्म मात्रै प्रवेश अनुमति दिएपछि नाका खुलेपछि कुलपूजा सुरु हुने आशामा रहेका बझाङी पुनस् निराश भएका थिए । मानसरोवरको जल ल्याउन सहज वातावरण बनाइदिन दुई वर्षदेखि विभिन्न नेताहरूकहाँ धाउँदै आए पनि अझै पनि सुनुवाइ नभएको बझाङी समाज काठमाडौंका अध्यक्ष मीनबहादुर सिहले बताए । ‘नेताहरू जनताको समस्याप्रति उत्तरदायी भैदिएको भए यो समस्या कुनै ठूलो कुरा होइन,’ उनले भने, ‘सदियौंदेखिको परम्परा अवरुद्ध हुँदा पनि नेताहरू नबोल्नु, बरु विदेशीको पैसा मागेर आफ्नै भोटको राजनीतिक दुनो सोझ्याउन लाग्नु दुःखद कुरा हो ।’कान्तिपुरबाट