काठमाडौं। नेपाल आयल निगमले मंगलबार मध्यराति पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । सरकारले मंगलबार मध्यराति नै इन्धनको मूल्य वृद्धि गरेको जानकारी दिएको हो ।
वृद्धि भएको नयाँ मूल्य सूचीअनुसार अब आम उपभोक्ताले पेट्रोलका लागि प्रतिलिटर १ सय ६० रुपैयाँ पर्नेछ । पेट्रोलसँगै डिजल, मट्टितेल र हवाइ इन्धनको पनि मूल्य ५–५ रुपैयाँले बढाइएको छ । अब डिजल र मट्टितेल प्रतिलिटर १४३ रुपैयाँ पर्नेछ । निगमले चार महिनापछि खाना पकाउने ग्यासको पनि मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले बढाएर १६ सय रुपैयाँ पुर्याएको छ । नयाँ मूल्य गए राति १२ बजेदेखि नै लागू भएको छ ।
त्यस्तै आन्तरिक उडानका लागि हवाई इन्धनमा पनि लिटरको ५ रुपैयाँले वृद्धि गरी १ सय ५६ रुपैयाँ कायम गरिएको छ भने अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ५० अमेरिकी डलर वृद्धि गरी १,५४५ डलर कायम गरिएको छ ।मूल्यवृद्धिपछि पनि पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ९८ पैसा र डिजेलमा २८ रुपैयाँले घाटा रहेको निगमको दाबी छ । त्यस्तै, खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ९३२ रुपैयाँ घाटा रहेको पनि निगमले जनाएको छ । मट्टीतेल र आन्तरिक हवाई इन्धनमा क्रमशः ६ रुपैयाँ ६९ पैसा र १७ रुपैयाँ १५ पैसा नाफा रहेको निगमले बताएको छ । त्यस्तै, बाह्यतर्फको हवाई इन्धनमा प्रतिलिटर ६७ रुपैयाँ ६५ पैसा नाफा रहेको पनि जनाइएको छ । मूल्य समायोजनपछि पनि आगामी १५ दिनमा ४ अर्ब ६३ करोड ७७ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण निगमले गरेको छ ।