धनगढी: दसैं, तिहार मनाउन तराईबाट पहाड र सहरबाट गाउँतिर जानेको भिड लागेको छ । सुदूरपश्चिम प्रदेशको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरबाट दसैं, तिहार मनाउन पहाड जानेहरुको भिड लागेको हो । दैनिक हजारौं मानिस सार्वजनिक सवारी साधनमार्फत आ–आफ्नो गन्तव्यतर्फ गइरहेका छन् । पछिल्लो दुई—तीन दिनको अवधिमा करिब एक लाख जति मानिस चाडपर्व मनाउन प्रदेशको पहाडी जिल्लातर्फ उक्लेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जानकारी दिएको छ ।
सो कार्यालयका अनुसार दिउँसो र रातिको समय संयौं सवारी साधनमार्फत यात्रुहरु पहाडतर्फ जानेक्रम जारी रहेको छ । चाडपर्व आएपछि आ–आफ्नो गन्तव्यतर्फ जानका लागि बसपार्क पुगेका मान्छेहरुको निकै चहलपहल छ । प्रदेशको धनगढी र अत्तरियामा रहेको बसपार्क मान्छेले भरिएको छ ।
पछिल्लो दिन बसपार्कमा मान्छेको चाप निकै बढेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनिराज भट्टले बताउनुभयो । अत्तरिया बकपार्क भएर ९० हजारभन्दा बढी यात्रु पहाड उक्लेको उहाँको भनाइ छ । “सवारी साधनमा यात्रुको चाप बढेपछि कुनै किसिमको दुर्घटना हुन नदिन ट्राफिक प्रहरीले प्रदेशभर ३९ ठाउँमा हेल्पडेस्क राखेको छ” सूचना अधिकारी भट्टले भन्नुभयो, “त्यसको अलावा हरेक प्वाइन्टमा चेकजाँचको काम भइरहेको छ ।”
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले संयुक्त चेकजाँच गर्ने कार्यलाई प्राथमिकता दिएको जनाइएको छ । यसैगरी गोदावरीदेखि माथिसम्म पहाडी रुटमा टाइमकार्ड लागू गरिएको छ । सवारी साधनमा क्षमताभन्दा बढी यात्रु र सामान राखेको चेकजाँच भइरहेको जनाइएको छ । भट्टले भन्नुभयो, “भद्रगोल तरिकारले यात्रु राखेको, सवारीसाधन चलाएको अहिलेसम्म भेटिएको छैन । हामीले नियमित मापसे, लापसे चेकजाँच गरिरहेका छौं ।”
दसैं मनाउनका लागि तराईबाट घर जानेहरुको बसपार्क र भारतबाट फर्कनेहरुको नाकामा लर्को लागेको छ । भारतबाट मात्रै गौरीफन्टा नाका भएर दैनिक दुई हजार तीनसय मानिस आइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।
उहाँले चाडपर्व मनाउन घरतर्फ जानेहरुको सुरक्षालाई मध्यनजर गरेर संयुक्त रुपमा चेकजाँच गर्ने कार्य भइरहेको उल्लेख गर्नुभयो । यसैगरी, क्षमताभन्दा बढी यात्रु राख्ने र बढी भाडा असुल्ने सवारी साधनलाई पनि कारबाही गरिरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।


