कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सत्ता गठबन्धनका मन्त्री तथा सांसदहरूलाई भोलि प्रदेशसभामा बजेट प्रस्तुत हुने जानकारी दिएका छन् । उनले बजेट निकै राम्रो आउने र सांसदहरूका माग तथा जनताको भावना समेटिने दाबी गरेका छन् ।
मुख्यमन्त्रीको सरकारी निवासमा आज भएको छलफलमा भट्टले बजेटबारे जानकारी दिँदै प्रदेशको विकास र समृद्धिलाई गति दिने गरी बजेट ल्याउने तयारी भइरहेको बताए ।
‘माननीयहरूको माग सम्बोधन भएको छ । निकै राम्रो बजेट आउँछ । प्रदेशमा बजेटले एउटा गति दिनेछ,’ उनले सांसदहरूलाई भने, ‘भोलि नै बजेट टेबल हुन्छ ।’ तर, मुख्यमन्त्रीको भनाइप्रति सत्ता गठबन्धनकै सांसद अक्कल रावलले प्रश्न उठाएका छन् ।
‘सुन्ने मात्रै हो कि भन्न पनि पाइन्छ ?’ रावलले मुख्यमन्त्रीतर्फ हेर्दै भने । मुख्यमन्त्रीले ‘भन्न पनि पाइन्छ’ भनेपछि रावलले बजेट बेथितिपूर्ण रूपमा आउन लागेको चर्चा भइरहेको भन्दै ध्यानाकर्षण गराए । उनले अघिल्लो अवस्थाभन्दा पनि बढी बेथिति हुने गरी बजेट आएमा र त्यो बजेट पारित हुन नसकेमा त्यसको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरे ।
‘बजेटमा झन् बढी बेथिति देखियो र पास भएन भने त्यसको ग्यारेन्टी कसले लिन्छ ?’ रावलले मुख्यमन्त्रीलाई प्रश्न गरे ।
तर, रावलको प्रश्नमा मुख्यमन्त्री भट्टले जवाफ दिएनन् । बरु छलफल सकिएको घोषणा गरे ।
‘ल, सकियो,’ मुख्यमन्त्रीले भनेपछि अन्य सांसदहरूले पनि आफ्नो धारणा राख्ने अवसर पाएनन् । त्यसपछि मुख्यमन्त्री जुरुक्क उठेर बाहिरिए भने अन्य सहभागीहरू पनि क्रमशः बाहिरिए ।
असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सुदूरपश्चिम प्रदेशमा बजेट आउन नसक्दा प्रदेश बजेट शून्यताको अवस्थामा छ । अघिल्लो सरकारले ल्याएको बजेट पारित हुन नसकेपछि प्रदेशमा बजेटसम्बन्धी अन्योल कायम छ । यही अवस्थामा वर्तमान सरकारले पनि समयमै बजेट ल्याउन नसकेको आरोप खेपिरहेको छ ।


