धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलवपुरका चक्रबहादुर विकले विगत लामो समयदेखि धनगढी उपमहानगरपालिका–३ विशालनगरस्थित सडक छेउमै आरन पेसा गर्दै आएका छन् । आफ्ना बाउबाजेको पालादेखिको पुर्ख्यौली पेसालाई उनले निरन्तरता दिँदै आएका छन् ।
केही वर्षअघि कमजोर आर्थिक अवस्थाको कारण दश वर्षजति अर्काकोमा ज्यालादारीमा काम गरेका विकले अहिले आफैँ आरन व्यवसाय सञ्चालन गर्दै आएका छन् । पछिल्लो समय आधुनिकतासँगै पुराना पेसा विस्थापित हुँदै गएको अवस्थामा उनले भने पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आफ्नो श्रम र सीपबाट परिवारको जीविकोपार्जन गरिरहेका छन् । आरन व्यवसायी विकले मासिक रूपमा रु ७० हजार बराबरको कारोबार गर्दै आएका छन् । जसबाट सबै खर्च कटाएर रु २० हजार जति बचत हुने गरेको आरन व्यवसायी विकले बताए ।
सामान्य लेखपढ मात्र गर्नुभएका उनको १२ जनाको जहान छ । उनीसँग आम्दानीका अन्य कुनै आयस्रोत छैन । “घरका सबै परिवार यसै पेसाको कमाइमा मात्र निर्भर छन्,” उनले भने, “परिवारको लालनपालनदेखि सम्पूर्ण खर्च आरन पेसाको कमाइ नै धानेको छु” । बाल्यकालमा बुवासँगै फलामका विभिन्न औजार बनाउने सिप सिक्नुभएका विकले पुर्ख्यौली पेसाको सीप प्रयोग गर्दै यस पेसालाई आफ्नो आम्दानीको मुख्य स्रोत बनाएका छन् । यो पेसाबाट परिवार पाल्न धौधौ पर्न थालेको उनको भनाइ छ ।
“पुर्खाले गर्दै आएको सीप हो, यही काम सिकेर हुर्किएँ । अहिले पनि यही पेसाबाट जीविकोपार्जन गर्दै आएको छु”, विकले भन्नुभयो, “कहिलेकाहीँ काम पाउन समस्या हुन्छ तर आफ्नो सीप भएकाले अरूको भर पर्नुपरेको छैन ।” विकले आरनमा फलाम तताउने, पिटने, काट्ने र आवश्यक आकार दिने काम गर्दै आएका छन् । जसबाट हँसिया, कुटो, कोदालो, हलोको फाली, लगायतका कृषि औजार बनाएर बिक्री गर्ने गरेको बताए ।
स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने र परम्परागत सीपको संरक्षण गर्ने उद्देश्यले आरन पेसामा संलग्न व्यक्तिलाई आवश्यक तालिम, आधुनिक उपकरण तथा सहुलियतपूर्ण ऋण व्यवस्था गर्नुपर्ने विकको अपेक्षा छ ।


