धनगढीः धनगढी उपमहानगरपालिकाले धनगढी उपमहानगरपालिका–१४ फूलबारीमा रहेको हाम्रो गौशालालाई ट्र्याक्टर हस्तान्तरण गरेको छ। नगर उपप्रमुख कन्दकला रानाले गौशाला व्यवस्थापन समितिलाई ट्र्याक्टर हस्तान्तरण गरेकी हुन्। ट्र्याक्टर हस्तान्तरणपछि गौशालाको दैनिक व्यवस्थापन तथा गाईको हेरचाहमा सहज हुने अपेक्षा गरिएको छ।
हाम्रो गौशाला व्यवस्थापन समितिका अध्यक्ष यादवकुमार भण्डारीका अनुसार गौशालामा हाल करिब ३ सय ६५ वटा गाई रहेका छन्। ती गाईको हेरचाहका लागि ८ जना गोठाला कार्यरत छन्। उपमहानगरपालिकाले ५० वटा गाईका लागि एक जना गोठाला रहने गरी गोठालालाई मासिक १० हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउँदै आएको छ। गौशालाले आफ्नो आन्तरिक आम्दानीबाट गोठालालाई थप ५ हजार रुपैयाँ दिने गरेको अध्यक्ष भण्डारीले बताए।
गौशालाले गाईको गोबर र दूध बिक्री गरेर आन्तरिक आम्दानी गर्दै आएको छ। धनगढी उपमहानगरपालिकाका पशु चिकित्सक डा। समीर ठाकुरका अनुसार उपमहानगरपालिकाले गौशालामा रहेका बिरामी गाईको उपचार तथा आहाराका लागि समेत सहयोग गर्दै आएको छ। चालु आर्थिक वर्षमा पशु चौपाया व्यवस्थापनका लागि धनगढी उपमहानगरपालिकाले करिब ३५ देखि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। उक्त बजेट मुख्यतः गोठालाको पारिश्रमिकमा खर्च हुने गरेको छ भने बाँकी रकम गाईको आहारा, औषधि तथा हेरचाहमा खर्च हुने गरेको डा. ठाकुरले बताए।
ट्र्याक्टर हस्तान्तरणपछि गौशालाको व्यवस्थापनमा थप सहज हुने अध्यक्ष भण्डारीले बताए। गौशालालाई ट्र्याक्टर सहयोग गरेकोमा उनले धनगढी उपमहानगरपालिकालाई धन्यवादसमेत व्यक्त गरेका छन्।


