धनगढी: दशैँ–तिहार नजिकिँदै जाँदा बजारमा दैनिक उपभोग्य वस्तुको माग बढेसँगै मूल्यसमेत बढ्न थालेपछि उपभोक्ताको आकर्षण सुपथ मूल्य पसलतर्फ बढेको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा दैनिक उपभोग्य वस्तु बजार मूल्यभन्दा केही सस्तोमा पाइने भएपछि उपभोक्ताको भिड बढ्दै गएको हो ।
असोज १ गतेदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसलमा पछिल्ला दिनमा उपभोक्ताको चाप बढेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, प्रादेशिक कार्यालय धनगढीले जनाएको छ । दशैँ–तिहारका लागि आवश्यक पर्ने चिनी, नुन, तेल, चामल, दाललगायतका वस्तु सुपथ मूल्यमा उपलब्ध हुन थालेपछि उपभोक्ता बजारको तुलनामा यस्ता पसलबाट सामान खरिद गर्न आकर्षित भएका हुन् । साल्ट ट्रेडिङले धनगढीस्थित प्रादेशिक कार्यालय परिसरमा दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालन गरेको छ । धनगढीसहित कैलाली र कञ्चनपुरका विभिन्न पाँच स्थानमा यस्ता पसल सञ्चालनमा ल्याइएको छ । त्यस्तै पहाडी जिल्लातर्फ डोटी, डडेल्धुरा र बैतडीको पाटनबाट समेत सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु बिक्री भइरहेको साल्ट ट्रेडिङले जनाएको छ ।
सुपथ मूल्य पसलमा चिनी प्रतिकिलो एक सय रुपैयाँमा बिक्री भइरहेको छ । नुन, तेल, दाल, चामललगायतका अन्य दैनिक उपभोग्य वस्तुसमेत बजार मूल्यभन्दा कममा बिक्री भइरहेको कार्यालयले जनाएको छ । चाडपर्व नजिकिएसँगै बजारमा उपभोग्य वस्तुको माग बढ्ने र त्यसको असर मूल्यमा समेत पर्ने भएकाले सुपथ मूल्य पसल उपभोक्ताका लागि राहतको माध्यम बनेको छ । विशेषगरी चिनी, नुन र तेलमा बजारको तुलनामा कम मूल्य पाइने भएपछि उपभोक्ताको आकर्षण बढी देखिएको छ । धनगढीकी उपभोक्ता बिस्ना भट्ट पाठकले छिमेकीबाट सुपथ मूल्य पसलबारे जानकारी पाएपछि आफू पनि सामान खरिद गर्न आएको बताइन् । उनका अनुसार बजारमा भन्दा साल्ट ट्रेडिङमा चिनी सस्तो पाइएपछि सुपथ मूल्य पसलबाटै खरिद गरेकी हुन् ।
“छिमेकीहरूबाट सुपथ मूल्य पसलबारे थाहा पाएँ । त्यसपछि साल्ट ट्रेडिङमा आएर चिनी लिएँ । बाहिरको बजारभन्दा निकै कम मूल्यमा पाएँ, राम्रो लाग्यो,” उनले भनिन् । सुपथ मूल्य पसलमा एक व्यक्तिले चिनी, नुन र तेललगायतका वस्तु अधिकतम पाँच किलोसम्म खरिद गर्न पाउने व्यवस्था गरिएको छ । यसले सीमित परिमाणमा भए पनि धेरै उपभोक्तालाई सुपथ मूल्यमा सामान उपलब्ध गराउन सहज भएको साल्ट ट्रेडिङको भनाइ छ । धनगढीस्थित प्रादेशिक कार्यालयमा सञ्चालित सुपथ मूल्य पसलबाट मात्रै दैनिक करिब एक सय ५० देखि दुई सयसम्म उपभोक्ताले दैनिक उपभोग्य वस्तु खरिद गरिरहेका छन् । चाडपर्व नजिकिँदै जाँदा उपभोक्ताको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ ।
सामान खरिद गर्न आएका धनगढी–३ का देव चन्दले अन्य सामानको तुलनामा चिनी, नुन र तेल सुपथ मूल्यमा पाइएको बताए । बजारमा मूल्य बढिरहेका बेला केही वस्तु सस्तोमा पाउँदा चाडपर्वको खर्च व्यवस्थापनमा सहयोग पुगेको उनको भनाइ छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, प्रादेशिक कार्यालय धनगढीका प्रमुख तेजबहादुर कुँवरका अनुसार सुपथ मूल्य पसल दैनिक बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुँदै आएको छ । चाडपर्वको समयमा उपभोक्तालाई सहज सेवा दिने उद्देश्यले सार्वजनिक बिदाका दिनसमेत पसल खुला राखिएको उनले बताए ।
उनका अनुसार दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसलमा पर्याप्त मात्रामा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने प्रयास भइरहेको छ । “चाडपर्वका बेला उपभोक्ताको माग बढ्ने भएकाले सोहीअनुसार सामानको व्यवस्थापन गरिरहेका छौँ । उपभोक्तालाई बजारभन्दा सस्तो मूल्यमा आवश्यक वस्तु उपलब्ध गराउने हाम्रो उद्देश्य हो,” कुँवरले भने ।
चाडपर्वका बेला बजारमा माग बढेसँगै दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढ्ने गरेको अवस्थामा सरकारी स्वामित्वको साल्ट ट्रेडिङले सञ्चालन गरेको सुपथ मूल्य पसलले उपभोक्तालाई केही राहत दिएको छ । विशेषगरी न्यून तथा मध्यम आय भएका परिवारका लागि चाडपर्वको खर्च व्यवस्थापनमा यस्ता पसल उपयोगी बन्ने गरेका छन् । असोज १ गतेदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसल दशैँ, तिहार तथा छठ पर्वसम्म सञ्चालन हुनेछ । चाडपर्वको अवधिभर उपभोक्तालाई आवश्यक पर्ने वस्तु सहज र सुपथ मूल्यमा उपलब्ध गराउने साल्ट ट्रेडिङले जनाएको छ ।


