धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना प्राध्यापकलाई नयाँ जिम्मेवारी दिएको छ ।
विश्वविद्यालय कार्यकारी परिषद्को असोज २८ गते बसेको बैठकले पदाधिकारी सिफारिस समितिको सिफारिसका आधारमा रिक्त पदहरूमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
नियुक्तिअनुसार व्यवस्थापन सङ्कायको डिनमा सहप्राध्यापक डा। शिवप्रसाद सापकोटा, शिक्षाशास्त्र सङ्कायको डिनमा सहप्राध्यापक डा। नाथुराम चौधरी तथा विज्ञान तथा प्रविधि सङ्कायको डिनमा सहप्राध्यापक डा। प्रेमसिंह साउद नियुक्त हुनुभएको विश्वविद्यालयका सूचना अधिकारी नविनबहादुर वमले बताउनुभयो ।
त्यस्तै, स्वास्थ्य विज्ञान सङ्कायको डिनको जिम्मेवारी सहप्राध्यापक डा। डबलबहादुर धामीलाई दिइएको छ । मानविकी तथा सामाजिकशास्त्र सङ्कायको डिनमा प्राध्यापक डा। राजेन्द्रप्रसाद भट्ट नियुक्त हुनुभएको छ ।
विश्वविद्यालय अन्तर्गतका दुई केन्द्रको नेतृत्व पनि परिवर्तन भएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको निर्देशकमा सहप्राध्यापक डा। महेन्द्रराज जोशी र भाषा, साहित्य तथा संस्कृति केन्द्रको निर्देशकमा प्राध्यापक डा। हरिशचन्द्र भट्ट नियुक्त हुनुभएको विश्वविद्यालयले जनाएको छ ।
यसैगरी विश्वविद्यालयको केन्द्रीय क्याम्पसको प्रिन्सिपलमा डा। दीपकचन्द्र भट्ट नियुक्त हुनुभएको छ ।


