धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले आज बिहान ९ बजे बजेट प्रस्तुत गर्ने तयारी गरे पनि प्रदेशसभा बैठकको समय फेरि सारिएको छ। बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको बैठक अब दिउँसो २ बजेका लागि तोकिएको छ।
सर्वोच्च अदालतले बजेट ल्याउने बाटो खोलिदिए पनि सुदूरपश्चिम प्रदेश सरकारले अझै बजेट प्रस्तुत गर्न सकेको छैन। आवश्यक तयारी पूरा नभएपछि प्रदेशसभा बैठकको समय पुनः सारिएको प्रदेशसभा सचिवालयकी प्रवक्ता ताराकुमारी जोशीले जानकारी दिइन्।
यसअघि बजेट प्रस्तुत गर्ने कार्यसूचीसहित शनिबार बिहान ८ बजेका लागि बोलाइएको बैठक दिउँसो ४ बजेका लागि सारिएको थियो। त्यसपछि आज बिहान ९ बजे बस्ने भनिएको बैठक पनि पुनः दिउँसो २ बजेका लागि सारिएको हो।
अर्थ मन्त्रालयले बजेट लगभग तयार भइसकेको जनाएको छ। तर, बजेट प्रस्तुत गर्ने प्रक्रिया अघि बढ्न नसक्दा प्रदेश सरकार तीन महिनादेखि बजेटविहीन अवस्थामा छ।
यसअघि सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेपछि बजेट प्रक्रिया रोकिएको थियो। तर, शुक्रबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि बजेट ल्याउने प्रक्रियामा रहेको कानुनी अवरोध हटेको थियो। कानुनी बाटो खुले पनि प्रदेश सरकारले बजेट प्रस्तुत गर्न नसक्दा प्रदेशको आर्थिक गतिविधि र सरकारी सेवा प्रवाहमा परेको असर लम्बिने अवस्था देखिएको छ।


