धनगढी । भदौ १० गते भोटेकोशी नदी भएर धादिङको त्रीशुली नदीमा आएको बिनाशकारी बाढीपछि बेपत्ता बेलौरीका ५ जनाको शकुशल घर पुगेका छन । धादिङको माछाबजार क्षेत्रबाट शनिबार बेलौरी नगरपालिका ५ का ५ जनाको शकुशल उद्दार गरि आइतबार घर पठाइएको हो ।
बेलौरी नगरपालिकाको सहयोगमा ५ नम्बर वडाका ५ जनाको शनिबार उद्दार गरि शकुसल घर पठाइएको बेलौरी नगरपालिकाको विपद सम्पर्क व्यक्ती अशोक पाण्डेले बताए । उनका अनुसार धादिङ माछाबजार क्षेत्रबाट उद्दार गरिनेमा बेलौरी नगरपालिका ५ का मनबुझाउने चौधरी, माया चौधरी, प्रदिप चौधरी, सुरेश चौधरी र दिनेश चौधरी रहेका छ्न ।
उनिहरु माछाबजारको माथिल्लो क्षेत्रमा मजदुरी गर्ने गर्थे । बाढीपछि उनी अलपत्र अवस्था भौतारिरहेका थिए । बेलौरी नगरपालिकाको सम्पर्कमा आएका ५ जनालाई काठमाडौ ल्याई आइतबार घर पठाइएको विपद सम्पर्क व्यक्ति अशोक पाण्डेयले बातए ।
यतिबेला बेलौरीको विपद शाखाको टोली काठमाडौंमा रहेको छ । उनिहरु स्याफ्रुबेँसीस्थित लाङटाङ हाइड्रोपावरमा कार्यरत बेलौरीका ३ जना कामदारको खोजीकार्यका लागि परिवार सहित त्यहा गएका हुन ।
बेलौरीका खुशीराम चौधरी ,रामचन्द्र चौधरी र प्रकाश चौधरीको खोजी कार्यमा समन्वय गर्न विपद शाखाको टोली उनिहरुको परिवार सहित गएको थियो । विपद सम्पर्क व्यक्ति पाण्डेयका अनुसार अहिलेसम्म सम्पर्क विहिन भएका ३ जनाको कुनै जानकारी आएको छैन । उनीहरु सहित बाढीमा वेपत्ताहरुको खोजी कार्य भइरहेको छ ।

