अछाम — पञ्चदेवल विनायक नगरपालिका–३ की १५ वर्षीया धुर्वा अधिकारीले वडास्तरीय बाल सञ्जालको अध्यक्षको जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको छ । जिम्मेवारी सम्हालेपछि उनले नेतृत्व गरेको बाल सञ्जालले वडामा देखिएका सामाजिक कुरीति र बालबालिकासँग प्रत्यक्ष जोडिएका समस्यालाई प्राथमिकतामा राख्दै एकवर्षे कार्ययोजना बनाएर काम थालेको थियो । कार्ययोजनाको मुख्य प्राथमिकतामा बालविवाह रोकथाम र छाउपडी कुप्रथा न्यूनीकरण थियो । एक वर्षको अवधिमा बाल सञ्जालले वडामा रहेका १० वटा छाउगोठ भत्काएको छ । छाउगोठ पहिचान गर्ने, स्थानीयसँग छलफल गर्ने र आवश्यकताअनुसार प्रहरी तथा अन्य सरोकारवालाको सहयोग लिने काममा बाल सञ्जालका सदस्य आफैं सक्रिय भएका छन् ।
यही अभियानका क्रममा पाँचवटा बालविवाहसमेत रोक्न सफल भएको अध्यक्ष अधिकारी बताउँछिन् । ‘वरपर भएका छाउगोठ भत्काउन थाल्यौं । स्थानीयले धेरै अवरोध गरे, तर हामी पछि हटेनौं,’ अधिकारीले भनिन्, ‘बालविवाह न्यूनीकरणमा पनि हामी यसैगरी लागेका छौं । पाँचवटा बालविवाह रोक्यौं ।’ सामाजिक कुरीतिविरुद्ध अभियान चलाउँदा भने अपेक्षाअनुसार सहयोग नपाउने गरेको उनको अनुभव छ । स्थानीय अगुवा तथा जनप्रतिनिधिबाट समेत कतिपय अवस्थामा साथ नपाउँदा अभियान सञ्चालनमा कठिनाइ हुने गरेको उनले बताइन् । लामो समयदेखि चलिआएका सामाजिक मान्यता र परम्पराविरुद्ध बालबालिका आफैं उभिँदा स्थानीयस्तरमा विरोध र अवरोधसमेत आउने गरेको उनले बताइन् ।
छाउपडी कुप्रथाविरुद्धको अभियानमा बाल सञ्जालका सदस्यले आफ्नै घरबाट परिवर्तन सुरु गरेका छन् । सोही बाल सञ्जालकी सदस्य १४ वर्षीया रमिला शाहीले आफ्नै घरमा रहेको छाउगोठ हटाएर अभियानमा सक्रिय भएकी छन् । ‘आफ्नै घरमा छाउपडी गोठ थियो । बाल सञ्जालका बैठक र अन्य ठाउँमा जाँदा आफैंलाई असहज महसुस हुन्थ्यो,’ शाहीले भनिन्, ‘कताकताबाट के–के सिकेर आएर गोठ भत्काउने भनेर परिवारका सदस्यबाट पनि असहयोग भयो । तर बाल सञ्जालका साथीहरू र प्रहरीको साथले गोठ भत्कायौं । घरभित्र बस्न थालें र अहिले यो अभियानमा आफैं पनि लागेको छु ।’ परिवारका सदस्यको असहयोगका बाबजुद बाल सञ्जालका साथी र प्रहरीको सहयोगमा गोठ हटाएपछि उनी अहिले अन्य परिवारलाई समेत छाउगोठ हटाउन आग्रह गर्दै आएकी छन् ।
अछामका अन्य स्थानीय तहमा पनि बाल सञ्जालले बालविवाह र छाउपडीविरुद्ध अभियान सञ्चालन गरिरहेका छन् । कमलबजार नगरपालिका–५ कुइकामा रहेको वडास्तरीय बाल सञ्जालले पनि छाउपडी कुप्रथा र बालविवाह न्यूनीकरणलाई मुख्य योजनामा राखेर काम गरिरहेको छ ।
बाल सञ्जालका सदस्यहरूले बालविवाहको सूचना संकलन गरी सम्बन्धित निकायलाई जानकारी गराउने गरेका छन् । बाल सञ्जालका सदस्य कुवेर देवकोटाका अनुसार उनीहरूले दिएको सूचनाका आधारमा उमेर नपुगी विवाह गरेका १३ जनालाई वडा कार्यालय र अन्य निकायको पहलमा भारत पुगिसकेपछि समेत फिर्ता ल्याइएको छ । ‘उमेर नपुगेर विवाह गरेका १३ जनालाई हाम्रै सूचनाका आधारमा वडा कार्यालय र अन्य निकायले भारत पुगिसक्दा पनि फिर्ता ल्याएको छ,’ देवकोटाले भने । विवाह गरेका बालबालिकालाई अभिभावकको समन्वयमा यहाँ ल्याइएपछि उनीहरुकै जिम्मा लगाउने र उमेर पुगेपछि निर्णय गर्न दिने गरिँदै आएको छ ।
कमलबजार नगरपालिका–५ का वडाध्यक्ष सत्यराज तिमिल्सेनाले आफू निर्वाचित भएर आएदेखि नै बालविवाह न्यूनीकरणलाई वडाको प्राथमिकतामा राखेर काम गरिरहेको बताए। ‘निर्वाचित भएको तीन वर्षदेखि नै बालविवाह रोकथामलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं,’ उनले भने, ‘सुरुमा हामीलाई भोट नदिने धम्की, विभिन्न आरोप, गालीगलौज र बोलचाल नै बन्द हुनेजस्ता असहज परिस्थिति सिर्जना भए। निरन्तर सम्झाइबुझाइ गरेपछि अहिले अवस्था सामान्य भएको छ। सम्बन्धित बालिकाहरू पनि अहिले खुसी छन् र हामी उनीहरूको अवस्थाबारे निरन्तर जानकारी लिइरहेका छौं ।’
उनका अनुसार वडा तहबाट गरिएको सम्झाइबुझाइका बाबजुद अटेरी गर्ने तीन वटा घटनामा प्रहरीको सहयोग लिनुपरेको थियो। एक वर्षको अवधिमा अन्तरजिल्ला समन्वयमार्फत दैलेखबाट १ र डोटीबाट १ जना बालिकालाई सकुशल फिर्ता ल्याइएको छ। भारत पुर्याइएका बालिकालाई समेत आफन्तसँग समन्वय गरी फिर्ता ल्याउने गरिएको उनले बताए। हाल भारतमा रहेका ६ जना बालिकाको अवस्थाबारे पनि निरन्तर निगरानी भइरहेको तिमिल्सेनाले बताए।
बाल सञ्जालले बालविवाह रोक्न मात्र नभई उमेर पुगेपछि विवाह गर्ने जोडीलाई प्रोत्साहन गर्ने काममा समेतभूमिका खेलेको छ । देवकोटाका अनुसार उमेर पुगेपछि विवाह गरेका २५ जोडीलाई वडाले सम्मान गरेको छ । बालविवाह रोकथामलाई दण्ड र रोकावटका रूपमा मात्र नभई कानुनी उमेर पुगेपछि विवाह गर्ने संस्कारलाई प्रोत्साहन गर्ने अभियानका रूपमा पनि अघि बढाइएको उनले बताए । कुइकामा छाउपडीविरुद्ध पनि बाल सञ्जालले नियमित अनुगमन गर्दै आएको छ । वडाभित्र रहेका छाउगोठको अवस्था बुझ्ने, गोठ हटाउन परिवारलाई आग्रह गर्ने तथा महिनावारी भएका महिलालाई घरभित्रै सुरक्षित रूपमा बस्न प्रेरित गर्ने काममा बालबालिका आफैं सक्रिय छन् । बाल सञ्जालकी सदस्य रेश्मा भुलका अनुसार उनीहरू आवश्यकताअनुसार आफैं छाउगोठको अनुगमन गर्छन् । ‘आफैं अनुगमन गर्छौं । छाउगोठ भत्काउँछौं र घरमा पनि बसाउँछौं,’ उनले भनिन् ।
बालबालिका नै सामाजिक कुरीतिविरुद्ध सक्रिय भएपछि स्थानीय तहका जनप्रतिनिधिले पनि अभियानमा साथ दिन थालेका छन् । कमलबजार नगरपालिका–५ का वडा सदस्य रतन भुलका अनुसार बालबालिकाले उठाएको विषयलाई वडाले पनि प्राथमिकतामा राखेको छ । भुल जनप्रतिनिधि हुनुका साथै स्थानीय धार्मिक परम्परासँग जोडिएका व्यक्ति पनि हुन् । उनले पहिलेको सामाजिक अभ्यास र अहिलेको सोचमा परिवर्तन आएको बताए ।
महिनावारी भएका महिलालाई घरबाहिर राख्ने परम्परा हटाएर घरभित्रै सुरक्षित रूपमा राख्नुपर्ने अभियानमा आफू पनि जोडिएको उनले बताए । ‘म आफैं जनप्रतिनिधि पनि हुँ । देवताको धामी पनि हुँ । पहिले जे जस्तो भए पनि अहिले महिनावारी भएको समयमा घरभित्रै सुरक्षित राख्नुपर्छ भन्ने अभियानमा म पनि जोडिएको छु,’ उनले भने ।
बालबालिकाले सामाजिक कुरीतिविरुद्ध अभियान चलाउन थालेपछि उनीहरूले उठाएका विषय स्थानीय तह र समुदायसम्म पुग्न थालेका छन् । बालविवाहको सूचना सम्बन्धित निकायसम्म पुर्याउनेदेखि छाउगोठको अनुगमनसम्मका काममा बाल सञ्जालका सदस्य सक्रिय छन् । यसले बालबालिकालाई सामाजिक सवालमा सहभागी गराउने मात्र नभई अधिकार र सुरक्षासँग जोडिएका विषयमा निर्णय प्रक्रियामा आवाज उठाउने अवसरसमेत दिएको बाल सञ्जालका पदाधिकारी बताउँछन् ।कान्तिपुरबाट

