धनगढी । श्रावण शुक्ल पञ्चमी अर्थात् नाग पञ्चमी आज नागदेवताको पूजा–आराधना गरी मनाइँदैछ। हिन्दू धार्मिक परम्परामा नाग पञ्चमीलाई नागदेवताका साथै सरीसृप प्राणीप्रति सम्मान प्रकट गर्ने पर्वका रूपमा लिइन्छ। यस दिन श्रद्धापूर्वक गरिएको पूजा नागदेवतासम्म पुग्ने जनविश्वास छ।
वैदिक दर्शनमा अनन्त, वासुकी, शेष, पद्म, कम्बल, कर्कोटक, अश्वतरा, धृतराष्ट्र, शङ्खपाल, कालिय, तक्षक र पिङ्गल गरी १२ नागको उल्लेख पाइन्छ। नाग पञ्चमीमा यी नागदेवताको स्मरण र पूजा गर्ने परम्परा छ।
यस अवसरमा ब्राह्मण तथा पुरोहितले गोबर र दूबोसहित नागको चित्र बनाएर वा लिएर घरको मूलढोका तथा मूलखाँबोमा टाँस्ने चलन छ। यस्तो चित्रले घरपरिवारलाई वर्षभरि अनिष्ट तथा प्राकृतिक विपत्तिबाट रक्षा गर्ने धार्मिक विश्वास रहिआएको छ। नागको चित्र ल्याउने पुरोहितलाई दक्षिणा, नैवेद्य तथा भोजन गराउने परम्परासमेत छ।
नाग पञ्चमीको सम्बन्ध महाभारतकालीन कथासँग जोडिएको पाइन्छ। राजा परीक्षितलाई तक्षक नागले डसेपछि उनका छोरा जनमेजयले सर्प विनाशका लागि सर्पसत्र यज्ञ सुरु गरेको र उक्त यज्ञमा असंख्य नाग भस्म भएको धार्मिक कथा छ। पछि आस्तिक ऋषिको आग्रहमा जनमेजयले यज्ञ रोकेपछि तक्षकसहित बाँकी नागको रक्षा भएको मान्यता छ।
यस दिन नागदेवताका प्रतिमा, चित्र वा काठमा दूध, मिठाई, फूल तथा धानको लाभा चढाएर पूजा गरिन्छ। प्रत्यक्ष सर्पको पूजा जोखिमपूर्ण हुने भएकाले प्रतीकात्मक रूपमा नागको चित्र तथा प्रतिमामै पूजा गर्ने परम्परा रहेको छ। नाग पञ्चमीले प्रकृति, जीवजन्तु र मानवबीचको सहअस्तित्व तथा संरक्षणको सांस्कृतिक सन्देशसमेत बोकेको छ।

