धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश इन्चार्ज दामोदर भण्डारीसँग भेटवार्ता गरेका छन्।
मुख्यमन्त्री भट्ट आइतबार धनगढीस्थित नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा पुगेर इन्चार्ज भण्डारीसँग भेटवार्ता गरेका हुन्। पार्टी कार्यालयमा पुगेका मुख्यमन्त्री भट्टलाई एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज भण्डारी, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसी, सचीव रण बहादुर चन्द लगायतका नेताहरूले स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए।

भेटका क्रममा मुख्यमन्त्री भट्टले प्रदेशको समग्र विकास, सरकार सञ्चालन तथा आगामी आर्थिक वर्षको बजेटका विषयमा एमाले नेतृत्वसँग छलफल गरेका थिए। उनले आगामी बजेटलाई प्रभावकारी, जनमुखी र प्रदेशका प्राथमिकतासँग जोडेर अघि बढाउन आवश्यक सुझाव दिन एमाले नेतृत्वसँग आग्रह गरेका थिए।
मुख्यमन्त्री भट्टले प्रदेशको आर्थिक अवस्था, विकास निर्माणका आवश्यकता तथा जनताका अपेक्षालाई सम्बोधन गर्ने गरी बजेट निर्माण गर्नुपर्नेमा जोड दिएका थिए। उनले प्रदेशमा देखिएका समस्या समाधानका लागि सबै राजनीतिक दलबीच सहकार्य र समन्वय आवश्यक रहेको बताएका थिए।
एमाले प्रदेश इन्चार्ज भण्डारीसहितका नेताहरूले पनि प्रदेश सरकारको आगामी बजेट तथा सरकारका प्राथमिकताका विषयमा आफ्ना सुझाव दिएका थिए। भेटमा प्रदेशको समसामयिक राजनीतिक अवस्था, विकास निर्माण र सरकारको आगामी कार्यदिशाबारे समेत छलफल भएको बताइएको छ।
मुख्यमन्त्रीमा नियुक्त भएपछि भट्टले प्रदेशका राजनीतिक दलका नेतृत्वसँग भेटघाट तथा छलफललाई तीव्रता दिएका छन्। प्रदेश सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै विकास र जनसरोकारका विषयलाई प्राथमिकतामा राख्ने उद्देश्यले राजनीतिक दलसँग सुझाव र सहकार्यको प्रयास भइरहेको जनाएको छ।

