धनगढी । धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ अभियानलाई मूर्तरूप दिँदै ‘एकीकृत डिजिटल प्रणाली युडिजिपी’ को पहिलो चरणको विकास तथा परीक्षण कार्य सम्पन्न गरेको छ। अब जन्मदर्ता, नागरिकताका लागि आवश्यक सिफारिस, व्यवसाय दर्ता तथा नवीकरणलगायतका अधिकांश सेवा घरमै बसेर अनलाइनमार्फत लिन सकिने भएको छ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपी को साझेदारीमा विकसित उक्त प्रणालीबारे सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै उपमहानगरले सेवा प्रवाहलाई छिटो, सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले डिजिटल प्रणाली कार्यान्वयनमा ल्याइएको जनाएको हो।
उपमहानगर प्रमुख गोपाल हमालले सूचना प्रविधिको प्रयोगमार्फत सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्यका साथ प्रणाली विकास गरिएको बताए।
“उपमहानगरको सेवा घरबाटै सहज रूपमा लिन मिल्ने गरी डिजिटल प्रणाली विकास गरेका छौँ। प्रविधिमा अभ्यस्त नागरिकले अब कार्यालयमा आउनुपर्ने छैन। प्रविधि प्रयोग गर्न नसक्ने नागरिकका लागि भने कार्यालयबाटै सेवा दिने व्यवस्था यथावत् रहनेछ,” उनले भने।
उपमहानगरका सञ्चार तथा सूचना प्रविधि शाखा प्रमुख अनुप भट्टका अनुसार नयाँ प्रणालीले सेवा प्रवाहलाई प्रभावकारी बनाउनुका साथै जनसङ्ख्या, करदाता, अपाङ्गता भएका नागरिकलगायतका तथ्याङ्क व्यवस्थापनमा समेत सहयोग पुग्नेछ। यसबाट तथ्याङ्कमा आधारित नीति तथा योजना निर्माण गर्न सहज हुने अपेक्षा गरिएको छ।
उपमहानगरले विभिन्न सफ्टवेयरलाई एउटै प्लेटफर्ममा एकीकृत गरेकाले नागरिकका सबै विवरण सुरक्षित रूपमा एउटै प्रणालीमा रहने जनाएको छ।
पहिलो चरणमा १९ वटै वडाका सचिवलाई तालिम, नागरिक ई–केवाइसी, विभिन्न सिफारिस, फाइल ट्र्याकिङ तथा डिजिटल सेवा सञ्चालनसम्बन्धी क्षमता विकासका कार्यक्रम सञ्चालन गरिनेछ।
डिजिटल साक्षरता कम भएका सेवाग्राहीलाई लक्षित गर्दै उपमहानगर परिसरमै सहायता कक्ष स्थापना गरिएको छ। त्यहाँ रहेका कर्मचारीले सेवाग्राहीको विवरण डिजिटल प्रणालीमा दर्ता गरी आवश्यक सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।
उपमहानगरका अनुसार दोस्रो चरणमा ई–सिग्नेचर, डिजिटल अभिलेख व्यवस्थापन, नागरिक गुनासो तथा सुझाव व्यवस्थापन, डिजिटल भुक्तानी, राजस्व सङ्कलन, विकास निर्माण अनुगमन, सार्वजनिक सूचना, विपद् व्यवस्थापन, डेटा सुरक्षा तथा डेटा दृश्यावलोकनलगायतका थप प्रणाली विकास गरिनेछ।

