धनगढी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ। यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धन ९ काठमाडौंका लागि ० प्रतिकिलोलिटर १३१ अमेरिकी डलरले मूल्य वृद्धि गरिएको छ। पोखरा र भैरहवाका लागि अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य ‘ब्रेक–इभेन पोइन्ट’मा कायम गरिएको निगमले जनाएको छ।
नयाँ मूल्यसूचीअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल तथा डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर २०० रुपैयाँ पुगेको छ। सुर्खेत र दाङमा प्रतिलिटर १९९ रुपैयाँ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १९७ रुपैयाँ ५० पैसा कायम गरिएको छ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् २ हजार ६० रुपैयाँ प्रति सिलिन्डर कायम गरिएको निगमले जनाएको छ। निगमका अनुसार इन्डियन आयल कर्पोरेसन ९ आईओसी ० ले जुलाई ३१ मा पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ १९ पैसा, डिजेलमा ३९ रुपैयाँ ६७ पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ ६ पैसा लागत बढेर आएको छ। त्यसका बाबजुद उपभोक्ताको हितलाई ध्यानमा राखेर सीमित मात्रामा मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
निगमले मूल्य समायोजनपछि पनि पाक्षिक रूपमा करिब १ अर्ब ४९ करोड रुपैयाँ घाटा हुने उल्लेख गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको भन्दै निगमले इन्धनको मितव्ययी प्रयोग गर्न उपभोक्तासँग आग्रह गरेको छ।

