धनगढी । स्थानीय सरकारले जनताको चाहनानुसार काम नगरेको स्थानीयले गुनासो गरेका छन् । जनप्रतिनिधिका पाँचवर्षे कार्यकाल बित्न लागे पनि अपेक्षा गरिए अनुसार काम नगरेको उनीहरूले गुनासो गरेका हुन् । जनप्रतिनिधिको ध्यान पालिकामा विकासभन्दा पनि राजनीति गर्नमै केन्द्रित रहेको स्थानीयको भनाइ छ ।
कैलालीमा अधिकांश स्थानीय तहका जनप्रतिनिधिले गरेका कामप्रति सम्बन्धित पालिकावासीको गुनासो छ । आफैँले गरेको प्रतिबद्धता अनुसार पनि जनप्रतिनिधिले काम नगरेको उनीहरूको टिप्पणी छ । जनताले ठुलो अपेक्षा गरेर जिताएर पठाए पनि जनप्रतिनिधिले जनताको चित्तबुझ्दो काम गर्न नसकिरहेको भजनी नगरपालिका–४ का बाँधुराम हर्दिउलाको गुनासो छ । उनले आफ्नो पालिकाका जनप्रतिनिधिले साढे चार वर्षसम्म काम गर्दा पनि पालिकाभित्र देखिने र जनताले महसुस गर्ने गरी उन्नति, प्रगति भएको नदेखिएको बताए ।
शिक्षक समेत रहनुभएका हर्दिउला भन्नुहुन्छ, “गौशाला बनाएर छाडा चौपाया व्यवस्थापनमा भने राम्रो काम गरेको देखियो तर भौतिक पूर्वाधार, शैक्षिक क्षेत्रमा भने सोचे जस्तो प्रगति देखिएन । पहिलेका जनप्रतिनिधि जतिका पनि काम गर्न नसकेको गाउँघरमा सुनिन्छ ।” २०७४ को निर्वाचनबाट स्थानीय तहमा पुगेका जनप्रतिनिधिले कानुन बनाउँदै काम गर्नुपर्ने अवस्था रहे पनि २०७९ को निर्वाचनबाट आएका जनप्रतिनिधिलाई भने काम गर्न कानुन र संरचनाको अभाव थिएन । अत्यावश्यक कानुन बनिसकेकाले काम गर्न धेरै अवसर रहेको जोशीपुर गाउँपालिकाका राकेश चौधरीको भनाइ छ । उहाँ भन्नुहुन्छ, “तर भौतिक संरचना, कानुन हुँदाहुँदै पनि अहिले धेरै जसो पालिकाका जनप्रतिनिधिले जनताको मन जित्ने गरी काम गर्न सकेनन् ।
कैलालीका १३ वटा पालिकामध्ये धनगढी उपमहानगरपालिका र बर्दगोरिया गाउँपालिकाले कतिपय क्षेत्रमा राम्रो काम गरेको बताइन्छ । धनगढीमा सरसफाइ, शैक्षिक र स्वास्थ्य क्षेत्रमा राम्रो काम भइरहेको फूलबारीका यम लामिछानेले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “भौतिक विकासतर्फ भने खासै प्रगति गरेको छैन । यसमा आर्थिक स्रोतले पनि फरक पारेको हुन सक्छ ।”

