धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष ०८३ र८४ का लागि बजेटको तयारी गरेपछि मन्त्रालयहरूमा योजना माग्नेको भीड लागेको छ । दल निकट नेता कार्यकर्ता, स्थानीय तहका जनप्रतिनिधिलगायत मन्त्रीहरूसँग पहुँच भएकाहरू यतिबेला योजना मागका फाइल बोक्दै मन्त्रालय धाउन थालेका हुन् ।
विभिन्न मन्त्रालयहरुमा यति वेला जिल्ला–जिल्लाबाट योजना माग्न आउनेहरूको भीड थेगिनस्कनु रहेको छ । ‘योजना हाल्दिनुपर्यो भन्नेहरूको अत्यधिक दबाब रहेको स्रोतले जानकारी दिएको छ ।
सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममाथिको छलफल दोस्रो दिन पनि जारी रहँदा प्रदेश सभा सदस्यहरूले सुशासन, बजेट कार्यान्वयन, कृषि, पर्यटन तथा जनउत्तरदायी शासनको विषयलाई प्रमुख रूपमा उठाएका छन् । बुधबार बसेको प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत दशौँ बैठकमा विभिन्न दलका सांसदहरूले नीति तथा कार्यक्रमको सकारात्मक पक्षको स्वागत गर्दै कार्यान्वयन क्षमतामाथि प्रश्न उठाएका छन् ।
यहि १८ गते प्रदेश प्रमुख नजिर मियाँबाट प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि मंगलबारबाट छलफल सुरु भएको थियो । बुधबारको बैठकमा सहभागी अधिकांश सांसदहरूले नीति तथा कार्यक्रमका उद्देश्य र घोषणाहरू आकर्षक भए पनि विगतका अनुभवले कार्यान्वयन पक्ष कमजोर रहेको टिप्पणी गरे । उनीहरूले आगामी बजेट निर्माण गर्दा नीति तथा कार्यक्रमको भावना अनुरूप जनमुखी र परिणाममुखी योजना ल्याउन सरकारलाई सुझाव दिए ।


