धनगढी । विगतमा सौका समुदायको ‘कुन्चा’ सँगै छाङ्रु सर्ने गरेको साविकको सीमा प्रशासन कार्यालय हालको अध्यागमन तथा सीमा प्रशासन कार्यालय टिङ्कर सदरमुकाम खलङ्गामै रहेको छ।
साविकको सीमा प्रशासन कार्यालय वैशाखको पहिलो सातामा सौका समुदायको ‘कुन्चा’ सँगै व्यास गाउँपालिका–१ छाङ्रुमा सर्ने गरेको थियो। तर तत्कालीन मन्त्रिपरिषद्को बैठकले २०८१ कात्तिक ८ गते सीमा प्रशासन कार्यालय व्यास छाङ्रु, दार्चुला खारेज गर्दै अध्यागमन तथा सीमा प्रशासन कार्यालय नामकरण गरेपछि त्यसयता कार्यालय सदरमुकाम खलङ्गामै रहेको अध्यागमन तथा सीमा प्रशासन कार्यालय टिङ्करका निमित्त कार्यालय प्रमुख गोपालसिंह बोहराले जानकारी दिए ।
आर्थिक वर्ष २०८० र ८१ सम्म उक्त कार्यालय गर्मीका ६ महिना छाङ्रु र हिउँदका ६ महिना सौका समुदायसँगै खलङ्गा सर्ने गरेको उनले बताए ।
साविकको कार्यालय खारेज गरी अध्यागमन तथा सीमा प्रशासन कार्यालय नामकरण भएपछि कार्यालय खलङ्गामै रहेको उनले बताए । कार्यालय लगातार दुई वर्षसम्म छाङ्रु नसरिएपछि छाङ्रुस्थित कार्यालय प्रयोजनका लागि भाडामा लिइएको घरसमेत गत साउनमा खाली गरिएको उहाँले जानकारी दिए ।
२०४१ सालमा स्थापना भएको सीमा प्रशासन कार्यालयबाट बहुयात्रा अनुमति पत्र जारी गरिनुका साथै सीमावर्ती क्षेत्रमा घटेका मुख्य घटनाहरूको विवरण हरेक महिना गृह मन्त्रालयमा पठाउने गरिएको छ।
कार्यालयबाट वैशाख महिनामा २५७ जना महिला र ७१० जना पुरुषले भारतको बाटो हुँदै व्यास गाउँपालिका–१ छाङ्रु र टिङ्करगाउँसम्म जान बहुयात्रा अनुमति पत्र लिएको निमित्त कार्यालय प्रमुख बोहराले जानकारी दिए ।


