धनगढी । बालविवाह अन्त्य घोषणालाई प्रदेश गौरवको योजनाका रुपमा अगाडि बढाउनू पर्ने एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् ।
सामाजिक विकास मन्त्रालयको समन्वयमा बालिका दुलही होइनन् नेपालले धनगढीमा आयोजना गरेको कार्यक्रममा बालविवाह अन्त्य घोषणालाई प्रदेश गौरवको योजनाका रुपमा अगाडि बढाउनु पर्ने जोड दिइएको हो । बालविवाह अन्त्यका लागि जरो कारण पत्ता लगाएर त्यही ढङ्गले कानुन बनाइ अगाडि बढ्न आवश्यक रहेको कार्यक्रममा बताइएको छ ।
प्रदेश सभाको सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले समाजका सबै पक्ष लागेमा बालविवाह अन्त्य गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सानैमा ‘लिभिङ टुगेदर’ मा बस्ने परिपाटी बढ्दो रहेको भन्दै यौनलाई सही ढङ्गले छलफल र ग्रहण गर्न आवश्यक रहेको औंल्याए ।
बालविवाह अन्त्यका लागि सुदूरपश्चिम प्रदेश सरकार नीतिगत रुपमै अगाडि बढेको जनाएको छ । प्रदेश सरकारले ‘सानै छु म बढ्न देऊ, बालविवाह होइन पढ्न देऊ’, ‘स्वस्थ बालबालिका, सशक्त महिला र सम्मानित ज्येष्ठ नागरिक’ जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ ।
प्रदेश सभा सदस्य जानकी कुँवरले बालविवाह अन्त्यको अभियानलाई सबैको साझा अभियानको रुपमा अगाडि बढाउनु पर्ने बताउनुभयो । उहाँले अभिभावकहरुले नै आफ्ना, बालबालिकालाई नियन्त्रण गर्न नसकिरहेको औंल्याउँदै भन्नुभयो, “बालविवाह गरिब परिवारमा मात्रै नभइ धनी परिवारमा भइरहेको छ ।”
धेरैजसो बालविवाह अभिभावकको सहमति वा लापरवाहीका कारणले भइरहेको कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक महेन्द्रराज जोशीले बताउनुभयो । उहाँले बालविवाह अन्त्यका लागि रणनीतिक योजना बनाएर मात्रै नहुने भन्दै अभिभावक र बालबालिकाहरुको व्यवहारमै परिवर्तन ल्याउन जरुरी रहेको औंल्याउनुभयो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र नेपालले बालविवाह अन्त्यका लागि बालबालिका र अभिभावकहरुलाई नै बुझाउन जरुरी रहेको बताउनुभयो । बालविवाह गम्भीर विषय रहेको उल्लेख गर्दै उहाँले फिल्डमा भोगाइ निकै जटिल रहेको स्पष्ट पारे ।
बालविवाह हुनुको मुख्य कारणको रुपमा आर्थिक अवस्था देखिएको बताइएको छ । यसैगरी, विद्यालय नजाने वा बिचमै विद्यालय छोड्नेहरुमा बालविवाह ५४ प्रतिशत भइरहेको सामाजिक विकास कार्यालयका लोकेन्द्र भट्टले बताए । उनले विद्यालय गइरहेकाहरुमा बालविवाहको अवस्था तुलनात्मक रुपमा कम रहेको उल्लेख गरे ।
मन्त्रालयले बालिका दुलही होइनन् नेपालसँग समन्वय गरेर बालविवाह अन्त्यका लागि रणनीतिक योजना निर्माण गरिरहेको छ । सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्लामा बालविवाहको अवस्थाको अध्ययन गरेर रणनीति योजनाको मस्यौदा ल्याएको बालिका दुलही होइनन् नेपालका अध्यक्ष प्रकाश खतिवडाले बताए ।


