धनगढी: डडेल्धुरा सदरमुकामबाट १० किलोमिटरको दूरीमा छ, भात्काडा बजार । त्यहाँबाट १२ किलोमिटर भित्री सडकको यात्रापछि पुगिन्छ, मटेला गाउँ । त्यही गाउँमा आजभन्दा झण्डै ८ दशकअघि जन्मिएका थिए, शेरबहादुर देउवा । विकट गाउँको मध्यम परिवारमा जन्मिएको व्यक्ति संघीय चुनावमा अनवरत जित निकाल्न सफल होलान्, पाँचपटक देशको प्रधानमन्त्री र ठूलो लोकतान्त्रिक पार्टीको दुईपटक सभापति बन्लान् भनेर कसैले पनि सोचेका थिएनन् होला । सायद देउवाले नै सोचेका थिएनन् । अरु धेरैले र आफैँले पनि नसोचेको सपना देउवाले साकार पारिदिए ।
सातपटक चुनाव जितेर पाँचपटक देशको प्रधानमन्त्री बन्ने सौभाग्य पाएका नेता देउवामा फेरि पनि धेरैको चासो छ । किनकि लगातार र सबैभन्दा धेरैपटक चुनाव जितेका नेताले अब के गर्लान् भन्नेमा धेरैको चासो छ ।
२०४८ सालदेखि २०७९ सालसम्म ३१ वर्षको अवधिमा प्रतिस्पर्धी फेरिए, मतदाता पनि फेरिए पनि, थपिए पनि । तर, डडेल्धुराबाट शेरबहादुर देउवाको अपराजित यात्रा जारी रह्यो । २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालमा भएको निर्वाचनमा देउवा डडेल्धुराबाट विजयी भएका थिए । अर्थात् २०४८ सालयता लगातार निर्वाचन जित्नेमा देउवा पर्छन् । २०४८, २०५१ र २०५६ सालको संसदीय निर्वाचनमा देउवा डडेल्धुराबाट विजयी भए । २०६४ को संविधानसभा कञ्चनपुर ४ र २०७० सालको निर्वाचनमा डडेल्धुराबाहेक कैलाली ६ बाट पनि विजयी भएका थिए । २०७९ को पछिल्लो निर्वाचन डडेल्धुराबाटै जिते ।
राजनीतिक उत्तरार्धमा पुगेका देउवा अब के गर्लान् ?
देउवा समकालीन राजनीतिमा लगातार चुनाव जित्दै आए । तर, २३ र २४ भदौको जेन–जी आन्दोलनको रापतापपछि देउवाले अब के गर्लान् भन्नेलाई चासोपूर्वक हेरिएको छ । आन्दोलनकारीबाट अपमानितहुँँदै घाइते भएका देउवा लामो समय उपचारपछि ठीक हुने क्रममा छन् । २८ असोजमा देउवाले कार्यवाहक सभापति उपसभापति पूर्णबहादुर खड्कालाई थमाए । अब सभापति उठ्न विधानले दिँदैन । जेन–जी आन्दोलनका क्रममा नमीठो घटना आत्मसात् गरेका देउवाले अब के गर्लान् भन्नेमा धेरैको चासो छ ।
२१ फागुनको निर्वाचनका लागि अब तीन महिना मात्रै समय बाँकी छ । यस्तोमा राजनीतिक जीवनको उत्तरार्धका पुगेका देउवाले के गर्लान् भन्नेमा चासो देखिनु स्वाभाविक पनि हो । उनलाई सातपटक जिताउने डडेल्धुरावासी भने विभाजित छन् । कसैले अन्तिमपटक देउवाले २१ फागुनको निर्वाचन लड्नुपर्ने तर्क गरिरहेका छन् भने देउवाकै अगुवाइमा पुस्तान्तरण हुनुपर्ने तर्क गर्नेहरू पनि कम छैनन् । डडेल्धुरा अजयमेरुका मतदाता भुवन पाण्डे देउवाले नै युवा पुस्तालाई अगाडि सार्नुपर्ने बताउँछन् । ‘उमेर भइसक्यो, राजनीतिक जीवनको पनि उत्तरार्धमा हुनुहुन्छ,’ पाण्डेले भने, ‘अब देउवाले नै युवाहरूलाई अगाडि बढाएर अभिभावक बन्नुपर्छ ।’
देउवाले अन्तिमपटक भए पनि प्रतिनिधिसभा निर्वाचन लड्नुपर्ने तर्क गर्ने पनि कम छैनन् । जिल्ला सदरमुकाम अमरगढीका निरज मल्ल विकल्प नभएका कारण देउवाले अन्तिम चुनाव लड्नुपर्ने बताउँछन् । ‘यसपटक त उहाँले चुनाव लड्नैपर्छ,’ मल्लले भने, ‘डडेल्धुराका जनताले पनि उहाँको सुरक्षित अवतरण खोजेका छन् । यो निर्वाचनमा जितेर देश र जनताका लागि काम गरेर देखाउनुपर्छ ।’ २०४८ सालमा पहिलो निर्वाचन जितेपछि गृहमन्त्री भएका देउवा पाँचपटक प्रधानमन्त्री बनिसकेका छन् । देउवा २०५२, २०५८, २०६१, २०७४ र २०७८ मा गरी पाँचपटक प्रधानमन्त्री भएका थिए । २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचन र २०७९ को निर्वाचनको अवधिमा भने देउवा प्रधानमन्त्री या मन्त्री बनेनन् । अन्यथा २०४८ सालको निर्वाचनपछि गृहमन्त्री अरु २०५१, २०५६, २०७४ को निर्वाचनपछि देउवा प्रधानमन्त्री बन्न पुगे ।
२०५२ मा एक वर्ष ५ महिना २९ दिन, २०५८ मा एक वर्ष २ महिना ९ दिन, २०६१ सालमा ८ महिना २ दिन, २०७४ मा ८ महिना १२ दिन र २०७८ मा १ वर्ष ६ महिना १५ दिन प्रधानमन्त्री भए । यो पाँचपटकको अवधिमा देउवा जम्मा ५ वर्ष ७ महिना सात दिन मुलुकको प्रधानमन्त्री भएका थिए । जबकि बहुमतको सरकार संसदको पूरै अवधि चल्ने हो भने एउटै कार्यकाल ५ वर्ष हुनेछ । तर, पाँचपटक गरी देउवा जम्मा एक पूरा कार्यकाल जति प्रधानमन्त्री भएका छन् । छैटौँपटक प्रधानमन्त्री बन्ने उनको अभिलाषा २३ र २४ भदौको जेन–जी आन्दोलनसँगै समाप्त भएको थियो । किनकि केपी ओलीले १० महिनापछि प्रधानमन्त्रीको पद हस्तान्तरण गर्ने सहमतिको पर्खाइमा उनी थिए ।
पटकपटक प्रधानमन्त्री भएको प्रभाव र भूगोलको लोकप्रियताबाट डडेल्धुरावासीले मत फेर्न नखोजेको देउवाको अपराजित यात्राले पनि बताउँछ । अनि यसैले एउटा भाष्य बनेको छ ‘देउवा जिते प्रधानमन्त्री, अरु जिते सांसद मात्र ।’ मतदातामा गढेको यही सोचाइ र मान्यताले देउवा लगातार चुनाव जित्ने सौभाग्यप्राप्त नेता हुन् । एकाधबाहेक उनको भारी मतान्तरको जितले यही दर्शाउँछ । कांग्रेसको राजनीति नजिकबाट नियाल्दै आएका डडेल्धुराका पत्रकार डीआर पन्त पनि देउवाले फागुनको निर्वाचन लडे जित सुनिश्चितजस्तै भएको बताउँछन् । ‘देउवाले आफू उम्मेदवार बन्नु हुन्न भन्ने मेरो धारणा हो,’ पन्तले भने, ‘देउवाले दोस्रो नभई तेस्रो पुस्तालाई उम्मेदवार बनाउनुपर्छ । तर, यदि देउवा नै उम्मेदवार बने भने त कसैले पराजित गर्न सक्दैन ।’
पन्तका अनुसार २४ भदौमा देउवामाथि भएको आक्रमण डडेल्धुरावासीलाई नियोजित लागेको छ । ‘नियोजित नभए देउवा मात्र किन आक्रमणमा परे भन्ने प्रश्न छ,’ पन्तले भने, ‘त्यो घटनाले देउवाप्रति झन् सहानुभूति बढेको छ । अर्कोतर्फ कांग्रेस र अन्य पार्टीमा देउवाको विकल्प पनि छैन । त्यसमाथि देउवालाई मन पराउने ५० कटेका मतदाताको संख्या बढी छ । यदि चुनाव नै लड्नुभयो भने उहाँको सहज जित हुन्छ ।’ राजनीतिक उत्तरार्धबाट सहज बिदाइ लिन खोज्दा देउवा नमीठो घटनाको सिकार भए । यसैले कतिपयले उनलाई अन्तिमपटक जितेर आफू ‘लोकप्रिय’ रहेको सन्देश प्रवाह गर्न पनि सुझाएका छन् ।
जेन–जी आन्दोलनअघिसम्म कतिपयले अब छोरा जयवीरलाई आफ्नै क्षेत्रबाट उम्मेदवार बनाउन पनि देउवालाई सुझाएको नेताहरू बताउँछन् । ‘सभापतिमा लड्न विधानले नदिने भएपछि २०८४ मा हुने भनिएको निर्वाचनमा छोरा जयवीरलाई अगाडि सार्ने र आफूले राजनीतिबाट बिदाइ लिने उहाँको इच्छा थियो,’ कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘तर, जेन–जी आन्दोलनका क्रममा उहाँमाथि एउटा नमीठो घाउ लाग्यो । यसैले के गर्नुहुन्छ, अन्योलमै छ । आफू गलत छैन भन्दै अन्तिमपटकको कार्ड फाल्दै उहाँ फेरि उम्मेदवार बन्न पनि सक्नुहुन्छ ।’ एमालेले पछिल्ला दुई चुनावमा देउवाविरुद्ध मैदान खाली छोडेको छ । २०७४ सालमा वाम गठबन्धन गरेर माओवादीका खगराज भट्टलाई समर्थन गरेको एमालेले २०७९ सालमा देउवाकै स्वकीय सचिव भएर बीपी कांग्रेसबाट उठेका कर्ण मल्ललाई समर्थन गर्यो, जसका कारण एमालेको संगठन जिल्लामा कमजोर देखिन्छ ।
अहिले बनेको नेपाली कम्युनिस्ट पार्टीबाट देउवालाई टक्कर दिने खगराज हुन् । उनी पनि देउवासँग निरन्तर चुनाव हारेका नेता हुन् । अघिल्लोपटक देउवाविरुद्द लडेका सागर ढकाल यसपटक डडेल्धुराबाट लड्छन् वा लड्दैनन्, त्यो पनि निश्चित छैन ।
देउवाले कहिले कति मतान्तरले जिते चुनाव ?
२०४८ सालमा पहिलोपटक आमनिर्वाचन लडेका देउवाले २४ हजार ५७० मत पाउँदै फराकिलो जित निकाले । त्यसबेला उनका निकटतम प्रतिस्पर्धी थिए एमालेका गोविन्दबहादुर कलौनी । उनले ६ हजार ६२८ मत पाए भने राप्रपाका गणेशप्रसाद भट्टले ३ हजार ५८० मत पाएका थिए । २०५१ सालको मध्यावधि निर्वाचनमा भने देउवाको भोट घट्यो । तर, विजयी यात्रा जारी रह्यो । ३३ हजार ५२३ मत खसेकोमा देउवाले २० हजार ७०१ मत पाए । उनका निकटतम प्रतिस्पर्धी नेपाल जनवादी मोर्चाका खेमराज भट्ट ९मायालु०ले ९ हजार ९६६ मत पाएका थिए । राप्रपाका लालबहादुर खडायतले २ हजार ८५६ मत पाए ।
२०५६ को आमनिर्वाचन भने देउवाका लागि झन् सहज भयो । ४४ हजार २९३ खसेको मतमा देउवा २८ हजार ६५१ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका बागेश्वरीदत्त चटौतले ७ हजार ८४० र राप्रपाका गणेशप्रसाद भट्टले ४ हजार ८९३ मत पाएका थिए । २०६४ सालको निर्वाचन भने देउवाका लागि सहज थिएन । भर्खर शान्ति प्रक्रियामा आएको माओवादी केन्द्र निर्वाचनमा आक्रामक देखिएको थियो । कांग्रेस र एमालेका शीर्ष नेता पनि हार बेहोर्दै थिए । तर, देउवा भने झिनो मतान्तर ९१३६८०ले जित निकाल्न सफल भए । अधिकांश कांग्रेसका नेता पराजित हुँदा देउवाले पनि मुस्किलले चुनाव जितेका थिए ।
५१ हजार ८६८ मत खसेकोमा देउवाले २० हजार ५२९ मत पाएका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादीका खगराज भट्टले १९ हजार १६१ मत पाएका थिए । एमालेका विक्रमबहादुर शाहीले भने ७ हजार ९८२ मत पाए । २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा देउवाले फेरि मतान्तर बढाए । देउवाले २३ हजार ९२० मत पाउँदा निकटतम प्रतिस्पर्धी एकीकृत नेकपा माओवादीका खगराज भट्टले १२ हजार ४९३ मत पाए । एमालेका ताराप्रसाद जोशीले ७ हजार १९० मत पाए ।
२०७४ सालमा देउवाविरुद्ध वाम गठबन्धन भयो । तर, उनका प्रतिस्पर्धी भने पुरानै थिए । २०६४ र २०७० मा देउवासँग पराजित भइसकेका खगराजलाई वाम गठबन्धनले चुनावी मैदानमा उतार्यो । तर, देउवाको अपराजित यात्रा रोकिएन । देउवाले २८ हजार ४४६ मत पाएर विजयी हुँदा गठबन्धनका भट्टले २१ हजार ४९८ मत पाए । देउवा ६ हजार ९४८ मतान्तरले विजयी भए । २०७९ सालमा पनि देउवा २०४८ सालदेखिको आफ्नो किल्ला जोगाउन सफल भए । देउवाले २५ हजार ५३४ मतसहित आफ्नो किल्ला जोगाएर अपराजित यात्रा कायम राखे । सातौँपटक विजयी हुने क्रममा देउवाले स्वतन्त्र उम्मेदवार सागर ढकाललाई पराजित गरे । ढकालले १३ हजार ४२ मत पाए भने नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत पाए । पछिल्लोपटकको निर्वाचनमा देउवा १२ हजार ४९२ मतान्तरले विजयी भए ।

