धनगढी: बैतडी समाज कैलालीको १६ औं बृहत रक्तदान कार्यक्रम यही साउन १७ गते शनिबार आयोजना हुने भएको छ । कैलाली उद्योग बाणिज्य संघ सितको सहकार्यमा आयोजना हुन लागेको रक्तदान कार्यक्रम धनगढी उपमहानगरपालिका ४ स्थित पद्मा नर्सिङ कलेजको प्राङ्गणमा हुने छ ।
रक्तदान कार्यक्रम सयोजक वीर बहादुर महराका अनुसार बिहान ८ बजे देखि दिउसो १ बजे सम्म रक्तदान कार्यक्रम संचालन हुने छ । सोही अवशरमा खिर खाने कार्यक्रम समेत आयोजना गरिएको उनले जानकारी दिए । रक्तदान कार्यक्रमको १५ शस्करण सम्म १ हजार ४ सय ३५ पिन्ट रगत संकलन गरिएको समाजले जनाएको छ ।

रक्तदान कार्यक्रमको पुर्वसन्ध्यामा १६ गते शुक्रबार बिहान-७ बजे “रक्तदान जिवनदान नाता हाम्रो रगतको” भन्ने मुल नाराका साथ धनगढी चौराहा देखि पार्क-मोड सम्म रक्तदान सचेतना र्याली आयोजना गरिने बैतडी समाज कैलालीका सदस्य राज बहादुर चन्दले बताए । रगत अभाव दैनिक बढ्दै गएको अवस्थामा स्थानीय र प्रदेश सरकारले रगत नि:शुल्क भनेर लोकप्रिय नारा सहित केही बजेट पनि ब्यबस्थापन गरेको अवस्थामा तर रक्तदान का लागि सचेतना एवम् प्रचारप्रसार मुलक कार्यक्रम निकै कम हुँदा रगत दान गर्नेको संख्यामा अझै वृद्धि हुन सकेको छैन ।


