बझाङ — वृद्ध काया, कुप्रो शरीर लिएर लठ्ठीको सहारामा जिल्ला अदालत बझाङ परिसरमा डुलिरहने सन्तोला पाध्या बझाङ सदरमुकाममा बस्नेका लागि परिचित अनुहार हुन् । निरक्षर भएर पनि चार दशकसम्म अथक कानुनी लडाइँ लडेकी पाध्याले सोमबार साँझ बोल्दाबोल्दै प्राण छाडेकी छन् । कञ्चनपुर झलारीस्थित छोरीको घरमा उनले प्राण त्याग गरेकी हुन् । एक महिनादेखि दिन बिराएर आउने ज्वरोका कारण उनको ज्यान गएको पाध्याकी छोरी सरु उपाध्यायले बताइन् । उनको मंगलबार महाकाली नदीमा अन्तिम संस्कार गरिएको छ ।
विसं १९८७ सालमा जन्मिएकी उनको घर हालको थलारा गाउँपालिका–८ देवस्थलीमा पर्छ । बझाङका अधिकांश महिला अहिले पनि समाजको दबाब र लाजले अहिले पनि आफूमाथि भएको अन्याय र थिचोमिचो सहँदै आएका थुप्रै घटना भेटिन्छन् । तर दुर्गम गाउँमा जन्मिएकी पाध्या त्यस्ती महिला हुन् जसले ४६ वर्षअघि पहिला समाज र परिवारको सहयोग बिनै आफ्नो अधिकार प्राप्तिको लडाइँ लड्ने कठोर अठोट लिइन् र अन्ततः सफल भएरै छाडिन् । २०३६ सालतिरको कुरा हो । त्यसको अघिल्लो वर्ष उनका श्रीमान्को मृत्यु भएको थियो । छोरी सरुको विवाह भइसकेको थियो । घरमा उनी एक्लै थिइन् । सन्तोलालाई भेट्न छिमेकी विष्णुभक्त पाध्या उनको घर आए । ुअब तिम्रो कोही छैन । हामीले तिम्रो हेरचाह गर्छौं पालनपोषण गर्छौ । केही चिन्ता नगरु भनेर फकाए । बदलामा उनको श्रीमान्को भएभरको सम्पत्ति आफ्नो नाममा गर्नुपर्ने सर्त राखे ।
सन्तोलाले यो सर्त ठाडै अस्वीकार गरिन् । फकाउँदा नमानेपछि उनलाई धम्काउन थाले । दुई वर्षअघि कान्तिपुरसँगको भेटमा सन्तोलाले ‘मेरो श्रीमान्को अंश म जसरी पनि भोग गर्न सक्छु तिमीहरू टाउको नदुखाउ’ भनेर जवाफ फर्काएको सुनाएकी थिइन् । यस्तै, ठाकठुक चलिरहेको थियो । एक रात विष्णु पाध्या र उनका आफ्न्त एक्कासि सन्तोलाको घरमा घुसे । एक जनाले उनको मुख हातले च्यापे । अरुले कुट्न थाले । उनी बेहोस भइन् । ‘मरिसकी भनेर उनलाई गाउँनजिकैको खोलामा फालेछन्,’ उनलाई अर्धचेत फेला पारेर नजिकै अर्को गाउँकी एक महिलाले बचाएको घटना फिल्मी कहानी जसरी सुनाउँदै उनले कान्तिपुरसँगको त्यो कुराकानीमा भनेकी थिइन्, ‘मेरो भाग्य बलियो रहेछ ।’ त्यसयता उनको गाउँमा बस्ने अवस्था भएन । सबै सम्पत्ति छिमेकीहरूले जफत गरिसकेका थिए ।
निरक्षर उनी न्याय माग्दै जिल्लाका विभिन्न कार्यालयमा गुहार्न थालिन् । कसैले जिस्काएर भेटेनरी र कृषि कार्यालयमा पनि न्याय पाइन्छ भनेर पठाए । घटनापछिका ४ वर्ष उनले न्याय दिने कार्यालय खोज्दैमा बित्यो । २०४० सालतिर कुनै सहयोगीको मद्दतले जिल्ला अदालत बझाङमा उनले सम्पत्ति जफत सम्बन्धी मुद्दा दर्ता गराइन् । मुद्दा चलिरहेको थियो, २०४९ सालमा भएको नापीका कर्मचारीसँग मिलेर उनको सबै जग्गा विपक्षीले आफ्नो नाममा दर्ता गराइसकेको रहेछ । उनलाई थप कानुनी झन्झट आइलाग्यो । अदालतले उनले सम्पत्ति पाउनुपर्ने फैसला गरे पनि त्यसअघिको सम्पत्ति नछुट्टिएका कारण उनले पुनः दर्ता बदर गरी आफ्नो नाममा जग्गा दर्ता गर्न अर्को मुद्दा हाल्नु पर्यो । यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो ।
बझाङ जस्तो विकट भूगोलमा जन्मेकी एकल र निरक्षर उनले यो कानुनी लडाइँ लड्न निकै नै पीडा खेप्नु पर्यो । बझाङबाट क्षेत्रीय सदरमुकाम रहेको डोटीको दिपायल हिँडेरै जानु पर्थ्यो । गाउँ गाउँमा चामल माग्दै, त्यही चामल चपाएर उनले वर्षौंसम्म दिपायल र बझाङ ओहोरदोहोर गरिन् । कैयौँ रात भोकै जंगलमा सुत्नु परे पनि उनले न्यायको आस मारिनन् ।
आधा बाटो हिँडेर कसैलाई गुहार मागेर उनी तीन पटक काठमाडौं पुगिन् । करिब १७ वर्षको संघर्षपछि २०६७ सालमा सर्वोच्चले उनको पक्षमा फैसला गर्यो । उनका श्रीमान्को जग्गा उनले पाइन् । जग्गा मात्रै पाएर उनको लडाइँ सकिएन । आफूले बस्न नपाइ श्रीमान्ले छाडेर गएको घर भत्कियो । घरभित्रको श्रीसम्पत्ति केही पनि उनले चलाउन पाइनन् । जग्गा पाएपछि उनले त्यो सम्पत्ति भराइ पाउँ भन्दै पुनः २०७१ सालमा न्यायालयको ढोकामा पुगिन् । जिल्ला अदालतले उनको पक्षमा फैसला गरेपनि यो मुद्दा अहिलेसम्म पनि सर्वोच्चमा विचाराधीन रहेको पाध्यालाई चिन्नेहरु बताउँछन् ।
‘बरु लड्दा लड्दै मरुँला । मेरो हक एउटा पनि छोड्ने छैन’ भनेर चिनजानकाहरुलाई बताउने उनै पाध्या न्यायको लडाइँ आधा जितेर अस्ताए पनि उनको साहस र अठोटको कथा भने उनलाई चिन्नेहरुको मनमा बाँचिरहेको छ । ‘उहाँजस्तो हिम्मतिली महिला मैले आजसम्म कोही पनि देखेकी छैन,’ महिला अधिकार मञ्च बझाङकी पूर्वअध्यक्ष जयन्ती जोशीले भनिन्, ‘न यातायातका साधन, न कोही सहयोगी, बाटो खर्चबिनै महिलाले घरको ढोका नाघ्नु हुँदैन भन्ने मान्यताले जरा गाडेको त्यो जमानामा चालिस वर्षसम्म कानुनी लडाइँ लड्नु चानचुने कुरा होइन ।’
सन्तोलाको मृत्युको खबरले उनलाई लामो समयदेखि चिन्ने अदालतका कर्मचारी पनि दुस्खी छन् । जिल्ला अदालत बझाङमा झन्डै ४० वर्ष बिताएका एक पूर्वकर्मचारी धर्मराज खड्का भन्छन्, ‘त्योबेला बझाङका महिला अरुसँग बोल्न पनि सक्दैन थिए । आफ्नो नाम लेख्न पनि नजान्ने सन्तोलाले अपत्यारिलो लडाइँ लडेकी हुन् । यस्तो साहसी महिलाको मृत्युको खबर सुन्दा दुस्ख लाग्यो ।’कान्तिपुरबाट


