धनगढी। कैलालीको कैलारी गाउँपालिका-८ डुधियाका तीन सहोदर दाजुभाइ श्रेष्ठबहादुर चौधरी, चुनीलाल चौधरी र रामलाल चौधरीको दिनचर्या हरेक बिहान ३ बजेदेखि सुरु हुन्छ।
घरबाट एक साथ निस्किने उनीहरु झिसमिसेमै माछा पोखरी पुग्छन्। दैनिक बिक्रीका लागि आफूलाई चाहिने माछाको भारी ठिक पारेर ढक–तराजु, हँसिया, अचानो मिलाउँछन् अनि साइकलमा दिनभरि गाउँघरमा डुलेर व्यापार गर्छन्।
पोखरीबाट माछा लिएर केही दुरी साथसाथ हिँड्ने उनीहरु निश्चित दुरीपछि भने छुट्टिन्छन्। साँझ फेरि तीनै जना एक ठाउँमा भेट हुन्छन्। दिनभरिको आ–आफ्नो भोगाइ सुनाउँदै, सुन्दै अबेर राति घर फर्किन्छन्। रामलाल र चुनीलालले २०४६ देखि माछा बिक्री गर्दै आएका छन् । सुरुमा उनीहरुले धनगढी हाटबजारमा बसेर माछा व्यवसाय गर्दै आएका थिए। कैलालीमा व्यावसायिक माछा पालन वृद्धि हुँदै गएपछि उनीहरुले आफ्नो व्यवसायलाई गाउँघर केन्द्रित बनाएका छन् । दाइहरुको सङ्गतले पछि कान्छो भाइ श्रेष्ठबहादुर पनि २०६६ देखि माछा व्यापारमा जोडिएका हुन् ।
माछा बिक्रीबाट हुने कमाइले उत्साहित भएका श्रेष्ठबहादुर भन्छन्, ‘हामी केही दिन बर्खामा खेतीपातीको काम गर्छौं । त्यसपछि बाह्रैमास यही काममा जुट्छौँ । हाम्रो घर परिवारको गुजारा यसैबाट चल्छ । काम गर्न बाहिर जानु परेको छैन।’ उनीहरु दैनिक फरक–फरक गाउँघरमा पुगेर माछा बिक्री गर्छन्। ग्राहकको रुचि अनुसार कसैलाई जिउँदो त कसैलाई ग्राहकको घरमै माछा काटेर दिन्छन्। ग्राहकहरुकै घरमा खाना खान्छन्।
एक जनाले दैनिक ७ देखि १० गाउँसम्म पुगेर माछा बिक्री गर्ने उनीहरु कैलालीको कैलारी, गौरीगंगा, घोडाघोडी नगरपालिकामा निकै रुचाइएका छन्। उनीहरु कैलालीको चुरे फेदीको गाउँघरसम्म पुगेर माछा बिक्री गर्दै आएको बताउँछन्। चुनीलाल भन्छन्, ‘जहाँ बजार छैन । त्यहाँ हाम्रो उपस्थिति छ । हामी पुग्छौँ । हाम्रो आफ्नै ग्राहक र बजार छ। फोन गरेरै हामीलाई बोलाउनु हुन्छ। जहाँ पुग्छौँ, त्यहाँकै ग्राहकको घरमा हाम्रो खाना हुन्छ ।’दैनिक एक जनाले १५ देखि ३० किलो माछा बिक्री गरेको उनीहरु सुनाउँछन्।
माछा पालक कृषकबाट थोक मूल्यमा माछा खरिद गर्ने उनीहरु प्रतिकिलो १०० सय रुपैयाँ मुनाफा लिइ बिक्री गर्छन्। एक जनाले सालाखाला मासिक ५० हजार रुपैयाँ मुनाफा हुँदै आएको र घर परिवारको खर्च, छोराछोरीको पढाइ खर्चमा कुनै समस्या नभएको श्रेष्ठबहादुर बताउँछन्। उनीहरुको काममा छोराछोरीले पनि सघाउन थालेका छन् । रामलाल भन्छन्, ‘कहिलेकाहीँ बिहान लगेको माछा चाँडै सकिने हुन्छ । ग्राहकको माग भएको अवस्थामा छोराहरुले हामी भएकै ठाउँमा थप माछा ल्याइदिन्छन्।’ लगिएको माछा बिक्री भइसकेपछि उनीहरु निश्चित ठाउँमा भेला हुन्छन्।
तीनै जना एक ठाउँमा जुटेपछि सँगै खाजा खान्छन्। रामलालले भने, ‘हामी दाजुभाइ मात्रै होइनौँ, मिल्ने साथी पनि हौँ। बिहान छुट्टिएका हामी साँझ एक ठाउँमा भेट्छौँ। दिनभरिको सुखदुःख साटासाट गर्छौं । राति ८ बजेतिर घर फर्किन्छौँ।’पछिल्लो समय सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्ला माछापालनको हवको रुपमा विकास भएको छ । यहाँ करिब २ सयभन्दा बढी प्राकृतिक तालतलैया र सयौँ कृत्रिम पोखरीमा व्यावसायिक माछापालन हुँदै आएको छ।
जसले यहाँका श्रेष्ठबहादुर, रामलाल र चुनीलाल मात्रै होइन, हजारौँ युवालाई आयआर्जनको बाटो खोलिदिएको छ। तर माछा पालन व्यवसायमा सरकारी लगानी नहुँदा र बजारीकरणमा समस्या हुँदा माछा पालक किसान भने निराश देखिएका छन् ।सरकारी तथ्याङ्क अनुसार सुदूरपश्चिममा वार्षिक १० हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ ।मत्स्य विकास केन्द्र गेटा कैलालीका प्रमुख सूर्य शाहीले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्ला माछा उत्पादनको प्रमुख जिल्ला रहेको बताउँदै सुदूरपश्चिममा उत्पादित माछाले यहाँको ७५ प्रतिशत मात्रै माग धानिरहेको जानकारी दिए।
बाँकी २५ प्रतिशत माछा भारत तथा अन्य प्रदेशबाट आयात भइरहेको हो। सुदूरपश्चिममा माछाको खपत पनि निकै कम रहेको बताइएको छ। एक व्यक्तिले वार्षिक सरदर साढे २ किलो माछामात्रै उपभोग गर्ने गरेको बताइएको छ। उत्पादनमा बृद्धिसँगै आउँदो १० वर्षमा प्रति व्यक्तिले १० केजी माछा उपभोग गराउने लक्ष्य रहेको शाही बताउँछन्। हालको उत्पादनलाई ४ गुणा बढाउनुपर्ने बताउँदै शाहीले यसका लागि सरकारी लगानी बढाउनुपर्ने औँल्याए।रातोपाटीबाट साभार