बझाङ। बझाङमा गाडी दुर्घटनामा मृत्यु भएका सुदुरपश्चिमका आन्तरिक मामिला मन्त्रीसिंहसहित ३ जनाको शनिवार दाहसंस्कार गरिने भएको छ। सुदूर पश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिंह, उनकी पत्नी र भाउजुको दाहसंस्कार शनिवार बझाङमा गरिने भएको हो ।
स्वर्गीय मन्त्री सिंहका जेठो छोरा नर्वेमा रहेकाले शुक्रवार नेपाल आईपुग्ने बताइएको छ। त्यत्तिबेलासम्म स्वर्गीय मन्त्री सिंहसहित तीनै जनाको शव जिल्ला अस्पतालमा राखिने र जेठो छोरा आएपछि शनिवार स्वर्गीय सिंह दम्पत्ती र उनकी भाउजु जयाको दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताएको छ । गाडी दुर्घटनामा मृत्यु भएका सुदूर पश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिंहको पार्थिव शरीर धनगढीबाट बुधवार दिउसो हेलिकोप्टरमा बझाङ लगिएको थियो ।
आज बिहानदेखि श्रद्धाञ्जलीका लागि धनगढीको रंगशालामा राखिएको स्वर्गीय मन्त्रीको शव मुख्यमन्त्री कमल बहादुर शाह, प्रदेश सरकारका मन्त्री, स्थानीय तहका प्रमुख, सर्वसाधारण, आफन्त र पार्टीका कार्यकर्ता तथा शुभेच्छुकहरुले श्रद्धाञ्जी अर्पण गरेपछि दिउसो १२ः१५ बजे बझाङ लगिएको हो । धनगढीबाट बझाङ जाने क्रममा सुपप्र ०१००१ झ ४८० नम्बरको जीपमा सवार सुदूर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिंह, उनकी पत्नी अमृता र भाउजु जयाको मंगलवार दिउसो १ः४५ बजे केदारस्यु गाँउपालिका–१ झारछडामा गाडी दुर्घटनामा परी मृत्यु भएको थियो ।
जीप दुर्घटनामा परेका धर्मराज जोशी र प्रहरी सहायक हबल्दार दीपक भण्डारी खतरामुक्त रहेको बाँकेस्थित कोहोलपुर मेडिकल कलेजकाका अर्थोपेडिक रेसिडेन्ट डा ब्राईन पोख्रेलले बताएका छन । उनका अनुसार घाइते दुवै जनालाई सघन उपचार कक्षमा राखिएको छ। दुवै जना होसमा भएको र, बोल्न सक्ने अवस्थामा रहेका छन।


