धनगढी। सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका कोरोना भाइरस र डेंगुबाट संक्रमित एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ। अस्पतालको ‘भेन्टिलेटर’मा उपचाररत बैतडीका ३० वर्षीय युवकको गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिए।
नसासम्बन्धी रोगको उपचार गराउन अस्पतालमा भर्ना गरिएका युवकको यही वैशाख १७ गते पिसिआर पद्धतिबाट नमुना जाँच गराउँदा कोरोना ‘पजिटिभ’ देखिएको थियो। त्यसको दुई दिनपछि पुनः नमुना जाँच गराउँदा डेंगुको समेत संक्रमण देखिएपछि थप उपचारका लागि संक्रमित युवकलाई भेन्टिलेटरमा राखिएको उनले बताए। युवकको अस्पतालमै गत चैत २५ गते नसासम्बन्धी समस्याको शल्यक्रिया गरिएको जनाइएको छ।यसअघि यही वैशाख ३ गते अस्पतालको सघन उपचार कक्षमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको थियो। सुदूरपश्चिम प्रदेशमा गत चैत महिनादेखि कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेको छ।
संक्रमण दर बढेसँगै रोगले हुने मृत्युदर पनि बढ्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ । भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि बढ्न थालेको हो। खासगरी सीमानाका हुँदै भारतबाट भित्रिने अधिकांश नागरिकमा कोरोना भाइरसको संक्रमण देखिने गरेको छ। कोरोना बढ्दै गए पनि तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरबाहीले रोगको संक्रमण थप बढ्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ। कोरोना भाइरसको समस्या देखिएयता बीचमा झन्डै एक वर्षसम्म सुदूरपश्चिममा यो रोगका कारण हुने मृत्युदर शून्य थियो।संक्रमण पुनः बढ्न थालेपछि कोरोना भाइरसविरुद्धको बुस्टर डोज (खोपको मात्रा) स्वास्थ्य संस्थामार्फत लगाउन थालिएको छ।