काठमाडौं। नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीलाई भेन्टिलेटरबाट हटाइएको छ।भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार आउन थालेपछि भेन्टिलेटरबाट हटाइएको हो।
उपचारमा संलग्न चिकित्सकका अनुसार भण्डारीको सबै पारामिटर नर्मल छन्। फोक्सोको तल्लो भागमा थोरै इन्फेकसन देखिएको तर डराउनुपर्ने अवस्था भने छैन। अहिले भण्डारी बोल्न थालेका छन्। भण्डारीका सहयोगी योगराज शर्मा कँडेलले भने, ‘आज बिहान डा। मुकेश मिश्रा र डा। अमोल मात्रेसँग काउन्सिलिङ्ग सम्पन्न भइ सकेको छ। उनको ईटी ट्यूव निकालिएको छ। अहिले रिजरभायर व्याग मास्कबाट १५ लिटर अक्सिजन दिइएको छ। डाक्टरहरुको योजना बमोजिम १५ लिटरलाई घटाउँदै लगिनेछ। ’
भण्डारीको प्रत्येक दिन छातीको फिजियो भइरहेको छ। सुन्निएको अनुहार पुरानो अवस्थामा फर्केको छ। कुनै कुनै ठाउँमा रातो रातो नयाँ छाला पलाएको देखिएको छ। बुधबार राति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर बिस्फोट हुँदा भण्डारी र उनकी आमा हरिकला घाइते भएका थिए।सांसद भण्डारीको २५ देखि ३० प्रतिशत शरीरको भाग जलेको थियो। सांसद भण्डारीको शरीरको कम भाग जले पनि बन्द कोठाभित्रको धुँवा फोक्सोसम्म पुगेकाले उनको अवस्था पनि गम्भीर रहेको थियो। त्यसपछि उनलाई बिहीबार दिउँसो मुम्बई लगिएको थियो।७० प्रतिशत शरीरको भाग जलेकी उनकी आमाको बिहीबार बिहान कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका थियो।