दार्चुला। महाकाली नदीमा पानीको बहाव नघट्दा दार्चुलाको महाकाली नगरपालिका र नौगाडा गाउँपालिका बेपत्ताको खोजी कार्यमा समस्या आएको छ । बाढीपहिरोका कारण ५ जनाको मृत्यु भएको थियो भने १० जना बेपत्ता रहेका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र सिंहले महाकालीको पानीको बहाव नघट्दा खोजी कार्यमा समस्या भएको बताए।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली खोजी कार्यमा खटिएका छन्। प्रहरी निरीक्षक सिंहका अनुसार महाकाली नगरपालिका र नौगाडा गाउँपापालिमा बाढी र पहिरोका कारण ६० घरपरिवार विस्थापित भएका छन् । ९१ घरमा क्षति भएपछि ४२ घर पूर्णरूपमा क्षतिग्रस्त छ। बाढी प्रभावित क्षेत्रमा विद्युत् र सञ्चार अवरुद्ध भएको छ।
महाकाली नदी र लास्कु खोलामा आएको बाढीले गर्दा विद्युत् र सञ्चार अवरुद्ध रहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । जसले खोजी कार्यमा समेत प्रभावित पारेको छ ।प्रहरी निरीक्षक लोकेन्द्र सिंहले खोजीका लागि शनिबारदेखि टोली खटिएको भए पनि महाकाली नदीमा पानीको बहाव उच्च भएकाले समस्या भएको बताए । उनले भने, ‘नदी किनारतिर बेपत्ताको खोजी कार्य जारी रहेको छ ।’ उनका अनुसार अझै ४० घर उच्च जोखिममा रहेको छ।
बाढीपहिरोमा परेर महाकाली नगरपालिका–३ का धनसिंह कार्की, दिनेश कार्की, दीपक कार्की, महाकाली–२ की मानमती साहु, महाकाली–१ लास्कुकी मञ्जु लुहार, सोही ठाउँका दिनेश लुहार, डल्ली लुहार र साजन लुहार गरी १० जना बेपत्ता रहेका छन्। महाकाली नगरपालिका–२ मुल्ला मोडका ७७ वर्षीय नन्दराम बोहरा, नौगाडा गाउँपालिका–२ दल्लेखका मोहन पार्की, महाकाली नगरपालिका–३ डुंग्रीकी मानमती कार्की, नौगाड गाउँपालिका–१ सल्लाकी जानकी ठगुन्ना र सोही ठाउँकी धनुली ठगुन्ना गरी ५ जनाको मृत्यु भएको थियो । बाढीपहिरोमा परेर घाइते भई जिल्ला अस्पतालमा उपचार गराइरहेका ८ जनामध्ये ३ जना घर फर्केका छन् ।