धनगढी। कैलाली र कञ्चनपुरसहित नेपालको तराई क्षेत्रमा आज हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै छ। पहाडी जिल्लामा बिहीबार नै फागु अर्थात् होली मनाइए पनि तराईमा भने आज मनाइँन लागिएको हो ।
हिमाली पहाडी जिल्लामा र तराईका जिल्लामा एक दिनको फरकमा होली मनाउने चलाउने छ । होली पर्वको अवसरमा सरकारले आज कैलाली र कञ्चनपुरसहित मधेस–तराईका जिल्लामा सार्वजनिक बिदा दिएको छ। होली पर्वका लागी कैलालीको धनगढी बजारमा होली खेल्नेहरुको चहलपहल बढेको छ। भने होली बिशेष कार्यक्रम होली हंगामा कार्यक्रम समेत आयोजना गरिएका छन्। पसल ब्यवसायीले बिभिन्न स्थानमा पसल थापेर रङग, अविर, पिच्कारी लगायत होली खेल्न चाहिने सामानको कारोवार गरिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार जिल्लामा होलीलाई मध्यनजर गर्दै सामान्य अवस्थाभन्दा केही बढी सुरक्षाकर्मी परिचालन गरिने छ । बढी भिडभाड हुने स्थान, सामूहिक होलीका कार्यक्रम भएका स्थानमा थप प्रहरी, मोबाइल टोलीलाई पनि प्रभावकारी रूपमा परिचालन गरिने उनले बताए। आवश्यक परेको स्थानमा खटाउन रिजर्भ फोर्स राखेको, भिडभाड हुने स्थानमा विशेष निगरानी र मोटरसाइकलमा तीन/चार जना राखेर चलाइएको पाइएमा त्यसतालाई कारबाही गरिने प्रवक्ता जोशीले बताए। होलीका नाममा मादकपदार्थ सेवन गर्ने,लागूपदार्थ सेवन गर्ने र हो हल्ला गर्ने तथा जबरजस्ती रंग दल्न खोज्ने गरेको पाइएमा पनि जो कोहीलाई कारबाही हुने बताए ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ। केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।








