धनगढी। कैलालीको पचमुडिया सब-डिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितले आफूमाथि मोसो दल्ने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुविरुद्ध जाहेरी दर्ता गराएका छन्।
पण्डितले मंगलबार जिल्ला प्रहरी कार्यालय कैलालीमा पुगेर सार्वजनिक स्थानमा भएको अभद्र व्यवहारको मुद्दामा किटानी जाहेरी दर्ता गर्दै दोषीलाई कानूनबमोजिम कारवाही गर्न माग गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले सहायक वन अधिकृत पण्डितले मोसो दल्ने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुलाई कारवाहीको माग गर्दै जाहेरी दर्ता गराएको जानकारी दिए।
‘उहाँले कारवाहीको माग गर्दै अभद्र व्यवहार शीर्षकमा जाहेरी दर्ता गराउनुभएको छ,’ डीएसपी जोशीले भने,‘जाहेरीमा घटनाको विवरण उल्लेख भएपनि मानिसहरुको नाम उल्लेख गरिएको छैन। यसबारे हामीले आवश्यक अनुसन्धान अगाडि बढाएका छौँ।’‘म माथि अभद्र व्यवहार गर्ने कसैलाई पनि व्यक्तिगत रुपमा म चिन्दैन्,’ पण्डितले भने, ‘तर उहाँहरुले ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता बताएकाले यो घटना चन्दा असुलीसँग जोडिएको छ । त्यसैले यसमा जोडिएका सबै मानिसको पहिचान गरेर कारवाहीको दायरामा ल्याउन माग गरेका छु।’यो पनी समबन्धीत समाचार…..
सहायक वन अधिकृतको चुनौती: ‘समाज रुपान्तरणकोलागि औकात छ भने खुल्ला बहस गर्न चुनौती दिन्छु’
कैलालीमा विप्लव कार्यकर्ताद्धारा सहायक वन अधिकृतमाथी कालोमोसो

