धनगढी। कैलालीमा विप्लव कार्यकर्ता बताउने व्यक्तिहरुद्धारा सहायक वन अधिकृतमाथी कालोमोसो दलीएपछि वन अधिकृत विश्वराज पण्डितले खुल्ला बहस गर्न चुनौती दिएका छन्।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता बताउने व्यक्तिहरुले डिभिजन वन कार्यालय पहलमानपुर अन्तरगत पचमुडिया सव डिभिजन वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत विश्वराज पण्डितलाई कालोमोसो दलीएको हो।
पण्डित आफैंले उक्त तस्वीर सार्वजनिक सामाजिक सञ्जालमा पोष्ट गर्दै चरित्रमा दाग नलागुन्जेलसम्म अनेक रंग पोतेर केही फरक नपर्ने उल्लेख गरेका छन् । साथै उनले मोसो दल्नेहरुलाई समाज रुपान्तरणको औकात छ भने खुल्ला बहस गर्न चुनौती पनि दिएका छन् । चन्दा आतंकको विरोध गरेकाले विप्लवका कार्यकर्ताहरुले आफूमाथि दुर्व्यवहार गरेको पण्डितको भनाइ छ ।
समयले सबैको हिसाबकिताब गर्ने उल्लेख गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘नेकपा (विप्लव) समूहका कथित केही थान व्यक्तिहरुले दिएको यो उपहार जिल्ला कैलाली डिभिजन वन कार्यालय पहलमानपुर अन्तर्गत पचमुडिया सवडिभिजन वन कार्यालयमा कार्यरत रहदाको अविस्मरणीय रहने छ ।’ उनी थप लेख्छन्, ‘देश र जनताका विरुद्ध गरेका मेरा कुनै पनि कार्यहरु छन् भने राज्यका ३ तहका अदालत, संवैधानिक निकायहरु र जनअदालतको कठघरामा उभिन तयार छु । अन्यथा एउटा सचेत प्राकृतिक व्यक्तिका हैसियतले समयले सबैको हिसाब किताब गर्ने नै छ ।’ आफ्नो चरित्रमा दाग नलागुन्जेलसम्म अनेकौं रंगहरु पोतेर खासै फरक नपर्ने भन्दै पण्डितले समाज रुपान्तरणको खुल्ला बहसमा आउन चुनौती पनि दिएका छन् । उनले लेखेका छन्, ‘समाज रुपान्तरणको लागि औकात छ भने खुल्ला बहस गर्न चुनौती दिन्छु ।’
गएको पुसमा नेकपा जिल्ला कार्यसमितिले भजनी नगरपालिकास्थित लक्ष्मी, सयपत्री लगायतका सामुदायिक वन उपभोक्ता समितिसंग सहयोग भन्दै तीन लाख रुपैयाँसम्म उठाएको थियो । नेकपाले चन्दा मागेको भन्दै सहायक वन अधिकृत पण्डितले त्यसको विरोध गरेका बताइएको छ। 


