धनगढी । जलवायु परिवर्तनले विश्वव्यापी रूपमा पारिरहेको असरलाई न्यूनीकरण गर्न दार्चुलामा विशेष ‘जलवायु संवाद’ को आयोजना गरिने भएको छ । ‘अपिहिमाल पर्यटन उत्सव, जलवायु परिवर्तनमा केन्द्रित विशेष जलवायु संवाद’ गरिने दार्चुलाको अपिहिमाल गाउँपालिकाले जनाएको छ । जलवायु परिवर्तनको असरले हिमालमा तापक्रम बढ्दै जाँदा हिमपहिरो खसेर जनधनको ठुलो क्षति भइरहेको छ । यस्तो अवस्थामा आयोजना गर्न लागिएको उत्सवले विश्व समुदायमा निकै सकारात्मक सन्देश पुग्ने गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहोराले जानकारी दिनुभयो ।
आगामी नोभेम्बरमा हुने अन्तर्राष्ट्रिय जलवायु सम्मेलनको पूर्वसन्ध्यामा आयोजना हुन लागेको संवादमार्फत जलवायु परिवर्तनले नेपालको उच्च हिमाली क्षेत्रमा पारेको गम्भीर प्रभावबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइने उहाँले बताउनुभयो । गाउँपालिकाले यही कात्तिक १७ देखि १९ गतेसम्म तीनदिने उत्सवको आयोजना गरेको छ । पर्यटन गतिविधि बढाउँदै स्थानीयको रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको अध्यक्ष ठेकरे बोहोराले बताउनुभयो । अपिहिमाल क्षेत्रलाई सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना अनुसार पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन उत्सव आयोजना गरिएको हो ।
अपिहिमाल क्षेत्रलाई सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय केन्द्र बनाउने लक्ष्यसहित तीन दिनसम्म विभिन्न रचनात्मक तथा आकर्षक कार्यक्रम सञ्चालन गरिने गाउँपलिकाको योजना छ । उत्सवमा प्रदेश तथा राष्ट्रियस्तरका ख्यातिप्राप्त साहित्यकार, स्थानीय तथा राष्ट्रिय कलाकारको उपस्थितिमा विभिन्न कार्यक्रम सञ्चालन गरिने छ । प्राकृतिक सौन्दर्यले भरिएको अपिहिमाल गाउँपालिकालाई प्रविधिमैत्री, आत्मनिर्भर र प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ ।


