धनगढी । कैलालीको गोदावरी नगरपालिका–८ स्थित सूर्योदय सामुदायिक वन भित्र एक महिलाको शव फेला परेको छ। बुधवार सामुदायिक वनभित्र शव देखिएको भन्दै स्थानीयले अस्थायी प्रहरी पोस्ट स्याउलेमा जानकारी गराएका थिए।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार अन्दाजी ४५ देखि ५० वर्ष उमेरकी देखिने महिलाको शव फेला परेको हो।
शवको कम्मरभन्दा मुनिको भाग, हातमा लगाउने चुरा तथा एउटा झोला घटनास्थलमा भेटिएको छ। शवलाई जङ्गली जनावरले आंशिक रूपमा खाएको प्रहरले जनाएको छ ।
झोलाभित्र महिलाले प्रयोग गर्ने सामग्री तथा ‘प्रिंका जैसवाल’ नाम उल्लेख भएको कागजसमेत फेला परेको जनाइएको छ। तर मृतकको पहिचान पुष्टि नभएको प्रहरीले जनाएको छ ।
शवको जाँच प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


