कञ्चनपुर । सुदुरपश्चिममा कोरोना संक्रमण रोकथामकालागि नाकामा परीक्षणमा कडाइ गरिएपनि जिल्लाभित्र निकै लापरबाही बढेको पाइएको छ।
सुदुरपश्चिमका त्रिनगर र गड्डाचौकी नाका भएर भित्रीने नागरिकहरुको नाकामै एन्टिजेन परीक्षण तथा स्वास्थ्य जाँच गर्ने गरिएपनी जिल्लाभित्र भने निकै लापरबाही बढेको पाइएको हो। तर नाकामै परीक्षणका क्रममा संक्रमण देखिए उनीहरूलाई नाकाबाटै प्रादेशिक अस्पतालको आइसोलेसनमा र संक्रमण नदेखिएकाहरू घरतर्फ पठाउने गरिएको छ।
कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको भारत तथा राजधानी काठमाडौंलगायत अन्य जिल्लाबाट आउनेहरूलाई सामान्य चेकजाँचसमेत हुँदैन । कैलाली र कञ्चनपुरमा अहिले पनि पालिकास्तरमा परीक्षणको दायरा बढाउन सकिएको छैन । महाकाली प्रादेशिक अस्पतालमा दैनिक ७०/८० जनाको पीसीआर परीक्षण हुने गरेको छ । यसबाहेक स्थानीय तहहरूमा परीक्षणको अवस्था निकै न्यून छ । जुन गतिमा संक्रमण बढिरहेको छ त्योअनुसार परीक्षण हुन सकेको छैन,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य निरीक्षक सिद्धराज भट्टले संक्रमण समुदायमै फैलिइसकेका कारण पालिकाहरूले वडास्तरमै परीक्षण गर्नुपर्ने बताए ।
कैलाली प्रशासनमा कार्यरत १५ जनामा कोरोना पुष्टिपछि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाका कर्मचारीदेखि महाकाली प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी र जिल्ला प्रशासन कार्यालयका कर्मचारीमा समेत संक्रमण देखिएपछि अत्यावश्यकबाहेकका सेवाहरू बन्द गरिएका छन् । अस्पतालले सामान्य अवस्थाका बिरामीलाई अहिले चेकजाँचका लागि नआउन आग्रह गरेको छ । नगरपालिकाले अत्यावश्यकबाहेकका सेवा बुधबारदेखि ५ दिनका लागि बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालयले पनि १२ जना कर्मचारीमा संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सेवाहरू केही दिनका लागि बन्द गरिएको जनाएको छ ।कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेयले नाकामा कडाइ गर्यौं, संक्रमितलाई सकेसम्म आइसोलेसनमै राख्न खोज्यौं,’ भने, ‘तर भित्र भने रोकथाममा ध्यान नै दिन सकेनौं ।’
उनले काठमाडौंलगायत अन्य जिल्लाबाट आउनेहरू परीक्षणबिना नै समुदायमा जाँदा संक्रमण तीव्र भएको बताए । अहिले सबैभन्दा बढी संक्रमित भएको काठमाडौंबाट आउनेहरूको कुनै परीक्षण वा चेकजाँच हुन सकेको छैन । गड्डाचौकीनाकामा संक्रमण देखिएकाहरूसमेत महाकाली प्रादेशिक अस्पतालको आइसोलेसनबाट भागेर सार्वजनिक बसबाट घर गएका छन् ।उनीहरूबाट समेत समुदायमा संक्रमण फैलिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । ‘अहिले पनि नाकामा मात्रै परीक्षण भइरहेको छ, जिल्लाभित्र परीक्षण बढ्न सकेको छैन्,’ महाकाली प्रादेशिक अस्पतालका कोभिड फोकल पर्सन डा। गोविन्द रोकायाले भने, ‘भारतबाट घर फर्केकाहरूबाट मात्रै संक्रमण फैलिएको होइन, काठमाडौंबाट आउनेहरूले समेत संक्रमण फैलाएका छन् ।’ उनका अनुसार पहिलो र दोस्रो लहरको संक्रमणका बेला काठमाडौंबाट आउनेलाई होम क्वारेन्टिनमै बसाइएको थियो । तर अहिले काठमाडौंबाट आउनेहरू सिधै समुदायमा घुलमिल भइरहेका छन् । नाकामा कडाइ गर्दा केही हदसम्म संक्रमितहरू सोझै समुदायमा जानबाट रोकिएका छन् । तर आन्तरिक रूपमा पनि चेकजाँच र परीक्षण नबढाउँदा संक्रमण भित्रभित्रै भुसको आगोजस्तै समुदायमा फैलिएको छ । अहिले पनि पालिकाहरूले परीक्षणको दायरा बढाएर संक्रमण रोकथाममा ध्यान दिन नसकेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।