धनगढी। मापदण्ड अनुसार शैय्या नपुग्दा यस वर्ष सुदूरपश्चिम प्रदेशका ७ वटा नर्सिङ कलेजले अध्यापन अनुमति नपाउने भएका छन् ।
चिकित्सा शिक्षा ऐन २०७५ को मापदण्ड अनुसार कलेज सञ्चालनका लागी एक सय शैय्याको आफ्नै अस्पताल हुनपर्नेमा त्यस्तो नहुँदा प्रदेशका ७ वटा कलेजले अध्यापन अनुमती नपाएका हुन ।
यस अघि ५० शैय्याको अस्पताल भएका कलेजहरुले प्रति कलेज २० जना विद्यार्थी सिट पाउने गरेका थिए । एक सय शैय्या भएका आफ्नै अस्पताल भएका कलेजहरु नहुँदा यस वर्षबाट सुदूरपश्चिममा नर्सिङ पढ्न नपाइने भएको छ।कैलालीको फारवेस्ट टेक्निकल कलेज, नवजीवन कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्सेस्, पद्मा नर्सिङ कलेज, शैलेश्वरी फरवेस्ट स्कुल अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी र टीकापुर नर्सिङ क्याम्पसले अध्यापन गराउन नपाउने भएका छन्।
यस्तै कञ्चनपुरको सेती महाकाली नर्सिङ क्याम्पस र डोटीको सुजङ हेल्थ एण्ड टेक्निकल एकेडेमीले पनि यस वर्ष प्रमाणपत्र तह (पिसिएल) नर्सिङ अध्यापन गराउन नपाउने भएका छन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)अन्तर्गत देशभर रहेका ११२ वटा नर्सिङ कलेज मध्ये यो वर्ष ४५ कलेजले मात्रै विद्यार्थी भर्नाका लागि सिट पाएका छन् । चिकित्सा शिक्षा ऐनले तोकेको मापदण्ड पुगेका २४ वटा मात्रै कलेज छन् तर ४५ वटामा भर्ना खुलाइएको छ ।