काठमाडौं। आज हरिबोधिनी एकादशी । कार्तिक शुक्ल एकादशी ठूली एकादशी वा तुलसी विवाहको नामले प्रसिद्ध छ । यस दिन विशेषगरी विष्णु भगवानको पूजा आरधनासहित तुलसी विवाहको उत्सव मनाइन्छ।
आजको दिन नै हरिशयनी एकादशीबाट चिरनिद्रामा सुतेका विष्णु भगवान् उठ्छन् भन्ने जनविश्वास रहेको छ। सनातन धर्मअनुसार आषाढ शुक्ल एकादशीदेखि चार महिना सुतेर भगवान् विष्णुले सबैभन्दा पहिले तुलसीको प्रार्थना सुनेका र त्यसै प्रार्थनाका प्रभावले निद्राबाट उठेका थिए । यसै दिन तुलसीको विवाह विष्णु भगवानसँग भएको धार्मिक विश्वास छ ।
दशैँ, तिहार, छठलगायत पर्वहरूका रोमाञ्चक अनि उल्लासमय क्षणहरू समापनसँगै ठूला पर्वहरू पनि सकिँदै छन् । त्यसैले हरिबोधिनी एकादशीलाई यस वर्षको चाडपर्वहरूको खाता बन्द भएको विगुलका रूपमा लिने गरिन्छ । कोजाग्रत पूर्णिमाबाट बाल्न थालिएको आकाशे बत्तीलाई आजबाट बाल्न बन्द गरिने चलन पनि छ। वर्षभरिका २४ वटा एकादशीमध्ये हरिबोधिनी एकादशी एउटा महत्वपूर्ण एकादशी हो । यसको महिमाका कारणले पनि यस एकादशीलाई सबैभन्दा ठूलो अर्थात् ठूली एकादशी पनि भन्ने गरिएको हो ।
तुलसीको महत्व
आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरूपमा पनि लाभदायक प्रमाणित भएको छ । पद्म पुराणमा बिन्दादेवीले पृथ्वीमा आएर भगवान् विष्णुलाई आफ्नो पतिका रूपमा पाउन गरेको तपस्यासँग तुलसीको महत्व जोडिएको छ। यस्तै श्रीमद भागवतको ३ को ५ को १९औँ खण्डमा तुलसी बिरुवाको दैविक गुणलाई व्याख्या गरिएको पाइन्छ। हजारौँ वर्षदेखि सनातन संस्कारीहरू प्रातकालमै उठेर तुलसीमा पानी चढाएर अनि नमन गरेर मात्र आ–आफ्नो दैनिकीमा लाग्ने गर्छन् । जन्म, मृत्युदेखि हरेक सनातन संस्कारमा तुलसीको बिरुवा अनि पातको महत्व हुन्छ। तुलसी पात हालेर अनि भगवानलाई अर्पण गरेर मात्र भोजन सेवन गर्ने चलन अझै पनि कैयनमा विद्यमान छ।
आँगनछेउको तुलसीको मठ विवाह ब्रतबन्धलगायत मृत्युशय्यासम्मका लागि पवित्र स्थान मानेर उपयोग गरिने चलन छ। त्यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ। तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दु धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन्। तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ। यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन। तुलसीको मठ भएको स्थलवरपर विषालु सर्प पनि आउँदैनन्। मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । मलेरिया रोग उत्पन्न गर्ने वायुलाई नष्ट गर्न सक्ने शक्ति तुलसीमा भएको आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ। शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ । कार्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । धार्मिक र सांस्कृतिक अनि वैज्ञानिकरूपमा पनि अति उपयोगी एक मात्र वनस्पतिको रूपमा तुलसीलाई लिइन्छ ।
तुलसी विवाह कसरी गर्ने ?
औपचारिक रूपमा हरिशयनी एकादशीमा रोपिएको तुलसीको बिरुवा हरिबोधिनी एकादशीसम्ममा धेरै ठूलो भइसकेको हुन्छ । सोही तुलसीको बिरुवाको गमलालाई एकादशीको साँझ गेरु आदिबाट सजाउनु पर्छ । त्यसपछि गमलाको चारैतिर मण्डप बनाएर त्यसमाथि दुलहीले लगाउने घुम्टी आकारको वस्त्र ओढाउनु पर्छ । गमलालाई सारीमा बेरेर तुलसीलाई चुरा लगाइदिएर श्रृंगार समेत गरिदिनुपर्छ । त्यसपछि भगवान् गणेश आदि देवताहरूको तथा शालिग्रामको विधिवत रूपमा पूजा गरेर तुलसीलाई षोडशोपचार पूजा ‘तुलस्यै नमः’ मन्त्रमार्फत गर्नुपर्दछ । त्यसपछि एउटा नरिवल, दक्षिणाका साथ टीकाको रूपमा राख्नु पर्छ र भगवान् शालिग्रामको मूर्तिको सिंहासन हातमा लिएर तुलसीको मठलाई सात पटक परिक्रमा गराउनु पर्छ। आरतीपश्चात् विवाहोत्सव पूर्ण हुन्छ। तुलसी विवाहमा हिन्दु विवाहजस्तै गरी सबै कार्य सम्पन्न गरिन्छ । विवाहको समय मंगलगीत पनि गाइन्छ।
श्रीहरि विष्णुलाई एक पत्र तुलसी समर्पित गर्नाले वैकुण्ठ लोक प्राप्त हुने धार्मिक मान्यता छ । आजको दिन भक्तालुहरू विहानैदेखि नुहाइधुवाइ अनि चोखो भएर व्रत बस्ने अनि फलाहार तथा कन्दमुल चोखोनितो खानेकुरा लिने चलन छ। विष्णु भगवानलाई नारायणका नामले पनि पुजिन्छ । तिनै नारायण र काठमाडौँ उपत्यकाको एउटा परम्परागत र परापूर्वकालीन सम्बन्ध छ। परापूर्वकालमा काठमाडौँ सहरमाथि भगवान् विष्णुको अनुकम्पा रहिरहोस् भनी उपत्यकाको चारैतर्फको कुनामा विष्णुको प्रतिमा राखिएको हो। जसको प्रतापका कारण विष्णुको अनुग्रह काठमाडौँ सहरमा हरेक पिँढी दरपिँढी कायम रहने सामाजिक मान्यता रहेको पाइन्छ। काठमाडौँको पश्चिममा इचंगुनारायण, पूर्वमा चाँगुनारायण, उत्तरमा विशंखुनारायण अनि दक्षिणमा शेषनारायणका रूपमा विष्णुले काठमाडौंलाई हेरिरहेको जनविश्वास छ । शेषको अर्थ अन्त्य भन्ने हुन्छ र नारायण दर्शनको समापन बिन्दु पनि त्यहीँ हुनेगरेको भनाइ छ । यसरी चारवटै नारायणको दर्शनार्थ पुग्नसक्ने भक्तालुहरूका लागि पाटनको कृष्ण मन्दिरको छेउमा चारनारायण मन्दिरमा उपत्यकावरिपरिका चारै नारायणको प्रतिमा राखी सहज रूपमा दर्शन गर्ने व्यवस्था गरिएको हो । यसर्थ पनि ती नारायणहरूमा हरिबोधिनी एकादशीको दिन भक्तजनहरूको प्रशस्तै भिड देख्न सकिन्छ । यसबाहेक नेपालभर छरिएर रहेका भगवान् विष्णुका मन्दिर अनि तिर्थस्थलमा भक्तजनहरूको आज व्यापक भिड रहने गर्दछ ।