धनगढी: बैतडीको पाटन–पञ्चेश्वर सडकको मेलौली–पञ्चेश्वर खण्डको म्याद तीन पटक थप गरिसक्दा समेत काम पूरा हुन सकेको छैन। ५९ किमी लामो सडक निर्माण सामाग्री अभाव हुँदा अन्तिम ५ किलोमिटर खण्डको काम अलपत्र परेको हो। जिल्लाको दक्षिणी क्षेत्र तल्लोस्वराडका मेलौली, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाको ५६ हजार जनसंख्यालाई लाभ पुग्ने यो सडकमा ९५ प्रतिशत काम सम्पन्न भएको छ। पाँच किलोमिटरमा मसिनो गिट्टीसहित अलकत्रा राख्न बाँकी छ।
विनायक क्षेत्रमा जम्मा गरिएको निर्माण सामाग्री (नेचुरल गिट्टी) ढुवानीमा प्रशासनले रोक लगाएपछि एक महिनायता निर्माण कार्य ठप्प भएको हो। निर्माणस्थलबाट १५ किलोमिटर टाढा विनायक घाटमा तयारी अवस्थामा रहेको सामग्री ल्याउन नसक्दा काम अलपत्र परेको निर्माण कम्पनीले जनाएको छ। केही समयअघि स्थानीय प्रशासनले विनायक घाटबाट क्रसर हटाउने निर्णय गरेको थियो। त्यसपछि यहाँ नेचुरल गिट्टी बनाउने काम बन्द भएको छ। क्रसर बन्द गरेपछि त्यहाँ तयारी अवस्थामा रहेको २५ टिपर गिट्टी ल्याउन नपाउँदा एक महिनादेखि काम अघि बढ्न नसकेको निर्माण कम्पनी केएस कन्स्ट्रक्सनका इन्जिनियर वसन्त पालले बताए। उनले भने, ‘हामीले निर्माण गरिरहेको २५ किलोमिटर खण्डमध्ये २० किलोमिटर सम्पन्न भइसकेको छ। एक महिनायता नेचुरल गिट्टी ल्याउन नसक्दा ५ प्रतिशत मात्र काम बाँकी छ।’
मध्यपहाडी लोकमार्गको नयाँ शहर पाटनबाट मेलौलीसम्म ३४ किमि सडक यसअघि नै कालोपत्रे भइसकेको छ। मेलौलीबाट थप ११ किलोमिटर गत बर्ष नै केएस कन्स्ट्रक्सनले कालोपत्रे गरिसकेको छ। शिवनाथ गाउँपालिकाको सुल्लेखानदेखि पञ्चेश्वरको सिउनानी खोलासम्मको ५ किलोमिटर सडकखण्डमा अलकत्रासहितको मसिनो गिट्टी बिछ्याउन मात्र बाँकी छ भने सिउनानी खोलादेखि पञ्चेश्वर–१ को डुङ्ग्रीखानसम्म ९ किलोमिटर खण्डमा गत बैशाखमा कालोपत्रे गरिएको थियो। सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेर अवरोध भएपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन्। ४६ करोडमा कालोपत्रे भइरहेको २५ किलोमिटर सडकमा चार वर्षयता निरन्तर काम भइरहेको थियो। अन्तिम खण्डमा थोरै काम मात्र बाँकी छोडेर ठेकेदार बाहिरिने तयारी गरेको भन्दै पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले चिन्ता व्यक्त गरे।
‘यो हामीले धेरै संघर्ष गरेर ल्याएको सडक हो, ६० किलोमिटरमध्ये पाँच किलोमिटर कालोपत्रे गर्ने काममा अवरोध भएको छ,’ चन्द भन्छन्, ‘नदीमा क्रसर बन्द गर्नु ठिकै हो। तर तयारी अवस्थामा रहेको सामाग्री ल्याउन दिएर काम सम्पन्न हुनुपर्छ।’ अहिले ठेकेदारका सबै उपकरण र कामदार निर्माणस्थलबाट हटाउन थालेकाले यथाशिघ्र काम गर्ने वातावरण मिलाउनुपर्नेमा उनले जोड दिए। पूर्वाधार विकास कार्यालय प्रमुख धिरेन्द्र भट्टले सकभर असारभित्रै काम सम्पन्न गर्ने हिसाबले समन्वय गरिरहेको बताए। उनले भने, ‘काम अन्तिम चरणमा छ, असारसम्म ठेकेदारको म्याद छ। समयभित्रै निर्माण हुन नसके फेरि म्याद थप गर्नुपर्ला।’
निर्माण सामाग्री ढुवानी गर्न सके तीन हप्तादेखि एक महिनाजतिमा पाँच किलोमिटर कालोपत्रे गरेर काम सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ। तर तत्काल काम अघि बढाउन नसके निर्माण कार्यमा प्रयोग हुने उपकरणहरु र कामदारसहित अर्को ठाउँमा जानुपर्ने कम्पनीका इन्जिनियर पालले बताए। उनका अनुसार अहिले अढाइ सय किलोमिटर टाढा कञ्चनपुरबाट नेचुरल गिट्टी ल्याउन खोज्दा त्यहाँ पनि अभाव भएका कारण निर्माण कार्य ठप्प भएको छ। ‘महङ्गीका कारण निर्माण व्यवसायीहरु मारमा छन्, १५ किलोमिटर नजिकको निर्माण सामाग्री ल्याउन बन्देज लगाएर, अढाइ सय किलोमिटर टाढाबाट ढुवानी गर्न सम्भव छैन’ उनले भने।
बर्खाअघि कालोपत्रे गर्न नसके पानीपिच सडक पनि खाल्डाखुल्डी भएर कच्ची सडकमा परिणत हुने अवस्था सिर्जना भएको पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताइन्। काम अघि बढाउन स्थानीय प्रशासन र राजनीतिक नेतृत्वसँग समन्वय गर्दा पनि समस्या उस्तै रहेको उनको भनाइ छ। गत बैशाखमा स्थानीय केही युवाहरुले अवैध क्रसर बन्द गराउन माग गरेका थिए। त्यसपछि विनायकमा रहेको क्रसर प्रशासनले बन्द गरेको थियो। स्थानीयहरुले पछि ठेकेदारलार्इसमेत काम गर्न अवरोध गरेर निर्माण कार्य अलपत्र पारेको पञ्चेश्वर–३ का अध्यक्ष मीनबहादुर चन्द बताउँछन्।
‘विकृति र खराब कामको बिरोध गर्ने हो तर गाउँ ठाउँको विकासका लागि सबै एकजुट हुनुपर्छ’ उनी भन्छन् ‘सडक कालोपत्रे गर्ने काम अहिले नभए बर्षौ लम्बिएर जनताले नै दुःख पाउँछन्।’ समस्या सामाधानको लागि सबै पक्ष एक भएर तल्लोस्वराडको मेरुदण्डको रुपमा रहेको पाटन–पञ्चेश्वर सडकको काम सम्पन्न गराउनुपर्ने उनले बताए।


