अनि नानीहरूको खबर के छ ?
केही अघिसम्म सामान्य रूपमा कुरा गरिरहेका दीपेन्द्र बम यस्तो प्रश्न झर्नासाथ झसङ्ग भए। हतारिँदै उत्तर फर्काए, ठीकै छ। त्यस्तो केही सुन्नु भएको हो र?
उल्टै संशय। सामान्य प्रश्नमा सशङ्कित हुँदै प्रश्न गरे दीपेन्द्रले। तीन वर्ष बितिसकेपछि पनि छोरीहरूका बारेमा कुनै समाचार आयो कि भन्ने त्रासले आतंकित बनाउँछ उनलाई। त्यसैले सोधिहाल्छन् – केही आयो र ?
दीपेन्द्र र उनकी श्रीमती दार्चुलामा बसोबास गर्छन्, दुई छोरी भने कंचनपुरमा।
निर्मलाको हत्या भएको एक वर्षसम्म रोशनी बमलाई स्कुल जानै तगारो लगाइयो। यी किशोरीमाथि सिंगो समाज र विद्यालय प्रशासन दुवैको भयपूर्ण दृष्टिकोण रह्यो। उनी आफैँ पनि विक्षिप्त भइन्, पढ्ने त टाढैको कुरो। एक वर्षपछि त्यो तगारो हट्दै गयो। उनी पनि चरम सकसपूर्ण अवस्थाबाट बाहिर निस्किन थालिन्। मुलतस् उनी पहिले झैँ झोला भरि किताबकापी बोकेर स्कुल धाउन थालिन्।
घरबाट निस्किएपछि भेटिने मानिसका दृष्टि, सोचाइ र सोधिने प्रश्न फेरियो। विद्यालय फर्किने साहसको आधार त्यही थियो।
उल्टा खामको सरस्वती माध्यमिक विद्यालयबाट उनी महेन्द्रनगर बजारमा रहेको महेन्द्र माविमा भर्ना भइन्। पहिलेको विद्यालयमा पनि उनी पढ्ने कक्षा नभएको होइन। तर, त्यहाँ पढ्ने वातावरण मरिसकेको थियो उनका लागि। बाध्य भइन् विद्यालय फेर्न।
एक वर्षको अन्तरालपछि उनी विद्यालय पुगिन्। साथीभाइ, डेस्कबेन्च, शिक्षक सबै नौला। उनले ती सबै बिर्सिनुपर्ने अवस्था थियो जुन हामी तपाईँलाई यहाँ सम्झाउँदैछौं।
२०७५ साउन १० गते। सँगै पढ्नका लागि बिहान साढे १० बजेतिर निर्मला पन्त रोशनीको घरमा आइपुगेकी थिइन्। रोशनी र उनकी दिदी बबिता घरमै थिए।
दिउँसो करिब साढे २ बजेतिर रोशनीको घरबाट अम्बा लिएर निर्मला बाहिरिइन्। त्यसपछि निर्मला कहाँ गइन्रु अज्ञात रह्यो। भोलिपल्छ रोशनीको घर नजिकै रहेको उखुबारीमा निर्मलाको शव भेटियो।
त्यसपछि रोशन र बबिता बम प्रहरीको अनुसन्धानको घेरामा मात्र होइन र सिंगो समाजमा अपराधी झै ठहरिए। उनीहरूको घरमा नै निर्मलाको हत्या भएको आरोप लाग्यो। बम दिदिबहिनीको घर, प्रर्दशनकारीले ढुङगा प्रहार गर्दा सिसा फुटेको
हल्लाको तागत यति धेरै थियो त्यसैका आडमा प्रहरीले यी दिदी बहिनीलाई हिरासतसम्म पुर्यायो। अनुसन्धानका लागि जिल्लाका प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टलाई हटाएर एसपी कुबेर बहादुर कठायतले जिम्मेवारी समातेपछि बबितालाई १८ दिन र रोशनीलाई ६ दिनसम्म हिरासतमा समेत राखेर अनुसन्धान गरियो। हिरासतमात्र होइन, त्यसअघि र पछि पनि प्रहरीहरू रोशनी र बबिताको घरमा बारम्बार पुग्थे र दोहोर्याउँथे उही कुरा।
बम दिदी बहिनीका लागि बज्रपात जारी रह्यो। यतिसम्म कि मानिसहरु घरमै तोडफोड गर्न पुगे। भौतिक तोडफोडभन्दा डरलाग्दो गरी मानसिक आक्रमण सुरु भयो -सोसल मिडियामा। त्यसैको असर थियो -पढिरहेको स्कुलले ट्रन्सफर सर्टिफिकेटधरी दिन मानेन। रोशनीको एक वर्षको पढाइमा पूर्णविराम।
बबिताको पनि त्यही हालत। महेन्द्रनगरको फार वेस्टर्न युनिभर्सिटीमा बीबीएस दोस्रो वर्षमा पढ्दै थिइन् जतिखेर यस्तो घटना भयो। उनको परीक्षा छुट्यो, कलेज पनि।
पढ्न मन मरेको थिएन। तर यस्तो घटना भयो जुन कल्पना समेत गरेको थिइन। त्यसैले त्यो समय पढाई त कुरै भएन। जीवनमा स्कुलको भन्दा धेरै पढाई परिस्थितिले पढाएको छ, रोशनीले सुनाइन्।
आखिरमा प्रहरी अनुसन्धानले पनि निर्दोष देखायो उनीहरुलाई। त्यति हुँदा पनि समाजले सजिलै किन पत्याउँथ्योरुझन्डै वर्ष दिन लाग्यो उनीहरुमाथि बुनिएका काल्पनिक कथाहरु झुटो सावित हुन्।
एक वर्षपछि ९ मै भर्ना भइन् उनी, निर्मला प्रकरणको चोट आलै थियो। तै पनि संघर्ष गरेरै पढिन्। कक्षा ९ पास हुँदा रोशनी कक्षामा दोस्रो भइन्।
पहिलेजस्तो गाह्रो छैन अहिले। पढाइ पनि राम्रो नै भएको छ। कक्षा ९ मा सेकेन्ड भएँ,गएको साता कुराकानी हुँदा रोशनीको बोलीमा केही उत्साह सुनियो।
घटना भएको एक वर्षपछि उनकी दिदी बबिताको विवाह भयो। बबिताको जीवनको लय आफ्नै हिसाबले अगाडि बढेको छ। उनी त्यो घटना सम्झनै चाहन्नन्। पाँच महिनाको काखे छोरोले ती दिनहरु भुलाउन सघाइरहेको छ। ुधेरै दुस्ख पाएको छु। अब मेरो घरपरिवार भइसक्यो। त्यस घटनाको बारेमा कुरा गर्न मन लाग्दैन,बबिताले भनिन्।
रोशनीले एसईईको परीक्षा दिइसकिन्। प्रतीक्षा छ परिणामको। मेहनत अनुसार राम्रै हुनेमा आशावादी छिन्। नर्सिङ पढ्ने लक्ष्य लिएकी छिन्, त्यसैको इन्ट्रान्स तयारी चलिरहेको छ।
नाम निस्किए नर्सिङ पढ्ने हो। नत्र प्लष्टुमा साइन्स पढ्छु। गएको तीन वर्ष त मेरो लागि सपना झैँ भयो,रोशनीले भनिन्।
यतिखेर बम परिवारमाथिको सङ्कट सङ्लिएको छ। तर अहिले पनि रोशनीको घरमा केही महिना बिराएर सोधपुछका लागि प्रहरी पुगिरहेकै हुन्छन्। एक महिनाअघि मात्र पनि प्रहरीले एक व्यक्तिको फोटो लिएर सोधपुछ गरेका थिए। प्रहरी घरमा पुग्दा रोशनी आत्तिन्न। संकटको सामना गर्न अभ्यस्त भइसकिन् उनी।
तीन वर्षमा फेरिएका किरण
दुई वर्षछि भेट्दा केही फेरिएका देखिए उनी। दुई वर्षअघि कसैले नचिनोस् भन्दै मास्क लगाएर दरबारमार्ग आइपुगेका थिए उनी। यसपाला चाहिँ कोरोना संक्रमणले मुख छोप्न बाध्य बनायो। अब पनि मुख देखाउन डर लाग्छ ?
किन नमिल्नु ? अब त अनुहार देखाएर हिँड्न सक्छु।
उनले मास्क खोले।
उनी अर्थात् किरण विष्ट। कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टका छोरा। त्यतिमै सीमित रहेन उनको परिचय। निर्मला पन्त हत्याले चर्चित बनाएको एउटा नाम।
निर्मला पन्तको हत्यारा र बलात्कारी खोज्दा किरण विष्ट पनि प्रहरीको अनुसन्धानमा ठोकिन पुगे। सोसल मिडिया ट्रायलमा परेपछि कुख्यात बनाइए उनी। प्रहरीसँग उनलाई समात्ने कुनै आधार थिएन तर केही मिडिया, फेसबुक, ट्विटर र युट्युब सञ्चालकले आफ्नै इजलासबाट बलात्कारी र हत्यारा करार गरिसकेका थिए उनलाई।
उनीविरुद्ध गलत समाचार यस्तो रफ्तारमा फैलियो कि प्रहरी सङ्गठन नै किरण विष्टलाई सामान्य सोधपुछ मात्र गरेर छाड्न नसक्ने अवस्थामा पुग्यो। घटनासँग जोडिएको कुनै क्लु नहुँदानहुँदै डीएनए परीक्षण समेत भयो उनको। झुटा समाचारकै भरमा डीएनए परीक्षण गर्ने अवस्थामा पुग्नु भर्खरै किशोरावस्था पूरा गरेका उनका लागि कति सकसपूर्ण भयो होलारु उनलाई केही समय घर परिवारमा मात्र होइन, साथीभाइसँग आँखा जुधाउने हिम्मत थिएन।
ुत्यो क्षण भन्नै सक्दिनँ। घरमा मेरो अनुहार हेर्दा समेत परिवारका सबैको आँखामा आँसु आउँथ्यो। अनि म उहाँहरूको नजिक नै पर्दिन थिएँ, किरण भावुक सुनिए, यो घटनापछि यस्तो भएको छु नि मेरो भावना नै सबै हराएको छ।
आज उनको जन्मदिन। तीन वर्षअघि महेन्द्रनगरको ओपेरा होटेलमा उनको जन्मदिनको पार्टी थियो र त्यहाँ निर्मला पनि सहभागी भएको हल्ला व्यापक। यथार्थमा किरण होटलमा नै थिए तर फोटो सुट गर्न। पार्टी त टाढाको कुरा।
फोन कल, फोटो सुटमा संलग्न भएका अरु व्यक्ति र होटलका कर्मचारीसँग प्रहरीले सम्पर्क गर्दा कतैबाट पनि किरण दोषी ठहरिने अवस्था थिएन। तर नखाएको बिष यसरी लाग्यो कि उनको बोली पत्याउने कोही थिएन। फोटोग्राफीमा भविष्य खोजिरहेका किरणको यस घटनापछि घरबाट निस्किने साहस जुटाउन सक्दैन थिए। हात पर्नै लागेको प्रोजेक्ट समेत खोसियो।
अहिले भने फेरि कामतिर फर्किँदै छन् उनी। काठमाडौंको नक्सालमा फोटो स्टुडियोमा काम गर्न थालेका छन् अहिले।
जीवन त यो पो हो जस्तो लाग्छ अचेल। रगतको आँसु बगाएर समय बिताएको छु। अब त जस्तै कठिनाइ आए पनि जुध्न सक्छु जस्तो लागेको छ। जीवन के हो भन्ने यो तीन वर्षमा राम्रोसँग बुझेँ, किरणले सुनाए।
तीन वर्षसम्म पनि निर्मलाको हत्यारा पत्ता नलगाएकोमा भने दुस्खी सुनिए उनी। एउटा दुस्खीको पीडा अर्को दुस्खीले जति अरूले बुझ्नै सक्दैन भन्ने लाग्छ उनलाई। उनलाई आफ्नोमात्र होइन बम दिदी बहिनीदेखि निर्मलाकी आमाको पीडा समेत महसुस हुने सुनाउँछन्।
होटेलमा बर्थ डे मनाएको समाचारले बेलाबेलामा घोचिरहेको हुन्छ उनलाई। जुन दिन निर्मला हराइन्, त्यही दिन उनको वर्थ डे पर्छ। त्यसैले चाहेर पनि उनले भुल्न सक्दैनन् निर्मला प्रकरण र त्यसपछि पाएको हण्डर।
किरणको डीएनए परीक्षण गरियो। बाबु एसपी दिल्लीराज विष्टको पनि। नेपालको इतिहासमा एउटै हत्यारबलात्कारको घटनामा एकै पटक बाबु र छोराको डीएनए परीक्षण गर्ने दुर्लभ संयोग जन्मियो। पहिलो पोस्टबाट