धनगढी नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बुधबार मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसपछि आजै बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
संसदीय दलको बैठकपछि एमाले दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री शाहले व्यक्तिका दम्भका आधारमा निर्णय गरेको आरोप लगाए । ‘उहाँले दम्भ देखाउनुभयो । सरकारमा र आफ्नो दलमा अल्पमतमा परेपछि के निहुँ पाउ, कनिका बुकाउ भन्ने अवस्थामा हुनुहुन्थ्यो । आज उहाँले कनिका बुकाउनुभयो, त्यसको स्वाद कस्तो हुन्छ, पछि थाहा होला,’ उनले भने, ‘त्यसकारण हामीले आज बेलुका ५ बजेबाट लागु हुनेगरी समर्थन फिर्ता हुने निर्णय गरेका छौं ।’
मुख्यमन्त्री शाहले बजेटमा एकलौटी गर्न खोजेको पनि उनले आरोप लगाए । जसमा ५ अर्ब रुपैयाँ आफ्नो क्षेत्रमा खन्याएको उनको दाबी छ । दुई दलका राजनीतिक नेतृत्वको अन्डरस्ट्यान्डिङमा बनेको सरकारको मर्म मुख्यमन्त्री शाहले नबुझेको पनि उनको आरोप छ ।
‘हामीले उहाँलाई पटक–पटक बुझाउने यत्न गर्यौं । कार्यदल आयो दुबै दलको, कार्यदलले रिपोर्ट लग्यो । छलफल गरियो, ती छलफललाई पनि उहाँले अस्वीकार गर्नुभयो,’ नेता रावलले भने ।

