धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक सुरु भएको छ।
संसदीय दलका नेता खगराज भट्टको अध्यक्षतामा सुरु भएको बैठकमा नेकपा सुदूरपश्चिम प्रदेश इन्चार्ज भानुभक्त जैशीको पनि उपस्थिति रहेको छ।
बैठकमा सुदूरपश्चिम प्रदेश सरकार गठन, नयाँ सत्ता समीकरण तथा आगामी राजनीतिक रणनीतिका विषयमा महत्वपूर्ण निर्णय गरिने जनाइएको छ।
मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा रहेका नेकपा (एमाले) का मन्त्रीहरूलाई बर्खास्त गरेपछि प्रदेशको सत्ता समीकरण फेरिएको छ। त्यसपछि एमालेले मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ।
यसै राजनीतिक घटनाक्रमबीच बसेको नेकपाको संसदीय दलको बैठकलाई सुदूरपश्चिम प्रदेशको आगामी सरकार गठनका दृष्टिले निकै चासोका साथ हेरिएको छ।

