धनगढी: कैलालीको धनगढीबाट भन्सार छलेर भारतबाट ल्याइएका दीपावलीका सामानसहित दुई जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म त्रिनगरबाट खटिएको टोलीले बुधबार साँझ धनगढी उपमहानगरपालिका–४ स्थित बसपार्क क्षेत्रमा चेकजाँच गर्ने क्रममा बा १२ च ५६६० नम्बरको रातो कारसहित अवैध समान नियन्त्रणमा लिएको हो।
भारतबाट अवैध बाटो प्रयोग गरी ल्याइएका कारसहितको कुल मूल्य २१ लाख २९ हजार ९३० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। कारमा सवार भारतको उत्तर प्रदेशस्थित लखिमपुर खिरी पलियाका १९ वर्षीय सुजन गुप्ता र धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका २० वर्षीय प्रविण बराललाई समेत नियन्त्रणमा लिइएको छ।
सशस्त्र प्रहरीले दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाएको छ। उनीहरूलाई हिरासतमा राखी बिहीबार भन्सार कार्यालयमा उपस्थित गराउने तयारी गरिएको प्रहरीले जनाएको छ।


