धनगढी । बाजुरामा स्वास्थ्यमा जटिल समस्या देखिएकी एक सुत्केरी महिलालाई हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वय र पहलमा त्रिवेणी नगरपालिका–७ की २४ वर्षीया जलुकुमारी भण्डारीको हवाई उद्धार गरिएको हो ।
बिहीबार बिहान जिल्ला अस्पताल बाजुरामा सुत्केरी हुनुभएकी भण्डारीको स्वास्थ्यमा जटिल समस्या देखिएपछि महिला मन्त्रालयसँगको समन्वयमा थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
नवजात शिशुको अवस्था सामान्य रहे पनि आमाको स्वास्थ्यमा जटिलता देखिएकाले बिहान ९.४५ बजे हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बताए ।
“मन्त्रालयमा हेलिकोप्टरका लागि तत्काल समन्वय गरेसँगै सुत्केरी महिलालाई छिटो सुर्खेत पठाउन सफल भयौँ,” उहाँले भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार भण्डारीलाई सुर्खेतस्थित प्रादेशिक अस्पतालमा पुर्याएर उपचार भइरहेको छ ।


