कैलाली: दसैँ–तिहारलगायतका ठूला चाडपर्वमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ। चाडपर्वका बेला चोरी, लुटपाट, जुवातास, अवैध पटाका तथा विस्फोटक पदार्थको कारोबारलगायतका गतिविधि बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो। चाडपर्वलाई लक्षित गरी प्रदेशभर ४ हजार ५ सय ५ जना प्रहरी परिचालन गरिएको थियो। डेढ महिनाको अवधिमा प्रहरीले जुवातास खेल्ने १ सय ४ जनालाई पक्राउ गर्नुका साथै करिब २२ लाख रुपैयाँ बराबरका पटाका तथा विस्फोटक पदार्थ बरामद गरेको छ।
दसैँ–तिहार सुरक्षा योजनाअन्तर्गत प्रहरीले जुवातास नियन्त्रण र अवैध विस्फोटक पदार्थको ओसारपसार रोक्न विशेष निगरानी बढाएको थियो। असोज र कात्तिक महिनाको हालसम्म जुवातास खेलिरहेको अवस्थामा १ सय ४ जना पक्राउ परेका छन्। उनीहरूबाट ४ लाख २३ हजार रुपैयाँभन्दा बढी नगद बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता पदम बिष्टले बताए।
उनका अनुसार डेढ महिनाको अवधिमा प्रदेशका विभिन्न १२ स्थानमा जुवाखालमा छापा मारिएको थियो। कैलाली, कञ्चनपुर र अछाममा जुवातास खेलिरहेका व्यक्तिहरूलाई पक्राउ गरिएको हो। चाडपर्वका बेला मनोरञ्जनका नाममा जुवातास खेल्ने प्रवृत्ति बढ्ने र त्यसले आर्थिक तथा सामाजिक अपराधलाई समेत प्रोत्साहन गर्न सक्ने भएकाले प्रहरीले यसविरुद्ध अभियान नै सञ्चालन गरेको जनाएको छ।
यस्तै, खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपाल भित्र्याइँदै गरेका पटाका तथा अन्य विस्फोटक पदार्थ नियन्त्रणमा पनि प्रहरीले सक्रियता बढाएको छ। डेढ महिनाको अवधिमा करिब २२ लाख रुपैयाँ बराबरका पटाका तथा विस्फोटक पदार्थ बरामद गरिएको प्रवक्ता बिष्टले बताए। कञ्चनपुरबाट मात्रै १७ लाख रुपैयाँभन्दा बढी मूल्यका पटाका बरामद गरिएको छ। चाडपर्वका बेला पटाका पड्काउँदा आगलागी, दुर्घटना तथा मानवीय क्षति हुन सक्ने भएकाले यसको अवैध कारोबार र प्रयोग नियन्त्रणमा प्रहरीले विशेष ध्यान दिएको छ।
चाडपर्वका बेला मानिसको आवतजावत, किनमेल र आर्थिक कारोबार बढ्ने भएकाले सुरक्षा चुनौती पनि थपिने गर्छ। यही अवस्थालाई ध्यानमा राख्दै प्रहरीले प्रदेशभर २५ प्रकारका सुरक्षा ड्युटी परिचालन गरेको छ। बजार क्षेत्र, मुख्य सडक, सीमा नाका, सार्वजनिक यातायातका साधन तथा बढी भीडभाड हुने स्थानमा सुरक्षा निगरानी बढाइएको प्रहरीले जनाएको छ।
सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन प्रहरीले आधुनिक प्रविधिको समेत प्रयोग गरेको छ। निगरानीका लागि ड्रोन क्यामेरा, नागरिक सहायता कक्ष, तालिमप्राप्त कुकुर तथा सादा पोसाकका प्रहरी परिचालन गरिएको प्रवक्ता बिष्टले बताए। चाडपर्वका बेला यात्रु तथा सर्वसाधारणलाई आवश्यक सहयोग उपलब्ध गराउन नागरिक सहायता कक्ष सञ्चालन गरिएको र शंकास्पद गतिविधिमाथि निगरानी बढाइएको उनको भनाइ छ।
प्रहरीले चाडपर्वका बेला आफ्नो व्यक्तिगत सुरक्षामा विशेष ध्यान दिन, अपरिचित व्यक्तिसँग आर्थिक कारोबार गर्दा सतर्क रहन तथा घर छाडेर बाहिर जाँदा आवश्यक सुरक्षा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। यस्तै, जुवातास खेल्ने, अवैध पटाका ओसारपसार गर्ने तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न नहुन पनि प्रहरीले सचेत गराएको छ।


